गृहपृष्ठ गृहमन्त्री र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता
गृहमन्त्री र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता

गृहमन्त्री रामबहादुर थापा ‘बादल’सँग नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकले शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगको विषयमा केन्द्रीत रहेको जनाइएको छ ।
भेटमा गृहमन्त्री थापाले पछिल्लो समय उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग बढाएको वार्ता र छलफलको स्वागत गर्दै त्यसको सफल परिणाम आउने आशा व्यक्त गरे । उनले देशभक्तिको लागि उत्तर कोरिया सबैका लागि प्रेरणाको स्रोत भएको टिप्पणीसमेत गरे ।
गृहमन्त्री थापाले उत्तर कोरियाले गार्मेन्टलगायतको क्षेत्रमा नयाँ प्रविधिको विकास गरिरहेको आफूले सुनेको भन्दै त्यस्तो प्रविधि नेपालमा पनि भित्र्याउन आफूहरु इच्छुक रहेको बताए ।
राजदूत हकले नेपाल र उत्तर कोरियाको सम्बन्धको चर्चा गर्दै यसलाई थप उचाइमा पु¥याउनुपर्नेमा जोड दिए । उनले नेपालमा रोजगारीका लागि आउने कोरियाली नागरिक प्रवेशाज्ञा प्रक्रिया झन्झटिलो हुँदा समस्या रहेको बताए । जवाफमा गृहमन्त्री थापाले, ‘प्रक्रिया सहज र सरल बनाउन तत्काल कदम चालिने’ बताए ।
राजदूत हकले गृहमन्त्रीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै केही दिनमा हुन गइरहेको राष्ट्रिय दिवसमा उत्तर कोरिया भ्रमणको निम्तो दिएका थिए ।
(रासस)
प्रकाशित समय १६:०१ बजे