गृहपृष्ठ साहले सार्वजनिक गरे ७ महिनाको कार्यप्रगति विवरण
साहले सार्वजनिक गरे ७ महिनाको कार्यप्रगति विवरण

निर्वाचित भएको ७ महिनामा रौतहट ३ का प्रतिनिधि सभा सदस्य प्रभु साहले आफ्नो कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् । पूर्वमन्त्रीसमेत रहेका साहले निर्वाचित भएको ७ महिनाको अवधिमा गरेका कार्यहरु समेटेर कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।
कार्यपत्र प्रस्तुत गर्दै साहले सात महिनाको छोटो अवधिमा पनि आफ्नो आत्मविश्वास प्रदेश सभा सदस्यहरुको सहयोग र जनताको विश्वासका कारण विकास निर्माणको थालनी गर्न सकेको बताए । उनले सीमित स्रोत साधनको बलमा जनअपेक्षा पूरा गर्नु चुनौतिपूर्ण कार्य भए पनि विकासप्रतिको आफ्नो आकांक्षामा कार्यकर्ता पंक्ति एवं जनताबाट पाएको साथ र सहयोगले छोटो अवधिमा पनि राम्रा कार्यको सुरुवात गर्न सकेकोमा सन्तोष व्यक्त गरे ।
साहले सार्वजनिक गरेको कार्यप्रगति विवरणमा जनसेवासँग सम्बन्धित कार्यहरु, विकास निर्माणसँग सम्बन्धित कार्यहरु, विद्युतीकरण तथा खानेपानी, बाढीबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण, ग्याँस चुलो वितरण तथा शैक्षिक क्षेत्रमा सहयोग जस्ता विषय समेटिएका छन् । निर्वाचित भइसकेपछि पनि जनसेवामा निरन्तर खटिइरहेको उनीद्वारा सार्वजनिक गरिएको प्रगति विवरणमा देखिन्छ ।
साहले बजेट विना विभिन्न स्थानमा सडक बनाउने कार्यको अग्रसरता लिए । प्रतिफलस्वरुप २७ किलोमिटर सडक बनेको छ । बजेट विना २७ किलोमिटर सडक निर्माण गर्नु आँफैमा चुनौतिपूर्ण कार्य रहेपनि साहको अथक प्रयासका कारण त्यो सम्भव भएको रौतहटका अग्रज पत्रकार सञ्जय मिश्र बताउँछन् ।
रौतहट समथर भूमिमा अवस्थित जिल्ला भएपनि मानव विकास सूचकांक लगायतमा निरन्तर रुपमा पछि पर्दै आएको छ । जिल्लाका विभिन्न ग्रामिण भेगमा अहिले पनि विद्युतिकरणको अभाव छ । भर्खरै मात्र साहको पहलमा रौतहटको सिम्री गाउँमा पहिलो पटक विद्युत बल्यो । पत्रकार मिश्र भन्छन् सुगम स्थानमा अवस्थित भएर पनि रौतहट दुर्गमभन्दा कम पिछडिएको थिएन । तर, साहले विकासको कार्यमा अग्रसरता लिन थालेपछि केही आशा पलाएको छ । साहले खानेपानी वितरणमा पनि अग्रसरता लिएका छन् ।
गत वर्ष भएको बाढी र डुबानका कारण रौतहटका धेरै क्षेत्र तहस नहस भए । रौतहट मात्र नभएर डुवानका कारण पूरै मधेस त्राही त्राही भयो । यो विषयमा साहले संसदमा समेत निरन्तर आवाज उठाउँदै आएका छन् । तर, उनले आवाज मात्र उठाएका छैनन् बाढीबाट क्षतिग्रस्त बाँधहरुको निर्माणमा अग्रसरता समेत लिएका छन् । भत्किएका बाँधहरुको पुनर्निर्माणमा उनले पहल गर्दै आएका छन् । केही ठाउँमा पुनर्निर्माण पनि भएको छ ।
गरिब र विपन्न परिवारलाई निःशुल्क ग्याँस चुलो वितरणदेखि विद्यालय जाने छात्राहरुलाई निःशुल्क साइकल वितरण गर्नेसम्मका कार्य गरेको साहद्वारा सार्वजनिक प्रगति विवरणमा उल्लेख गरिएको छ ।
प्रकाशित समय १९:४७ बजे