गृहपृष्ठ डा. केसी पक्षलाई वार्तामा आउन सरकारी वार्ता टोलीको आह्वान
डा. केसी पक्षलाई वार्तामा आउन सरकारी वार्ता टोलीको आह्वान
सरकारी वार्ता टोलीले डा. गोविन्द केसी पक्षलाई वार्तामा आउन फेरि आह्वान गरेको छ । वार्ता टोलीका संयोजक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बरालले शनिबार विज्ञप्ति जारी गर्दै डा. केसी पक्षलाई निःशर्त वार्तामा आउन आह्वान गरेका हुन् ।
बरालले डा. केसीका माग वार्ताबाट सम्बोधन गर्न सकिने भन्दै वार्ताका लागि आह्वान गरेको बताएका छन् । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक फिर्ता वा स्थगित नभएसम्म डा. केसीलाई काठमाडौं नल्याउने र विधेयक फिर्ता नलिएसम्म वार्तामा नबस्ने डा. केसी पक्षको वार्ता टोलीको भनाइले वार्ता हुन नसकेको सरकारी वार्ता टोलीका संयोजक बरालले बताए ।
सरकारले असार ३२ गते शिक्षा सचिव बरालको संयोजकत्वमा डा. केसी पक्षसँग वार्ता गर्न लागि वार्ता टोली गठन गरेको थियो । यसबीचमा वार्ता टोलीले तीन पटक वार्ता गरिसकेको छ ।
विज्ञप्तिमा वार्ताबाट छिटो समाधान ननिस्कने देखेर नै डा. केसीको स्वास्थ्य अवस्था थप बिग्रन नदिन सरकारले उनलाई जुम्लाबाट काठमाडौं ल्याई अभिभावकत्वको भूमिका निर्वाह गरेकोसमेत उल्लेख गरिएको छ ।
(रासस)
प्रकाशित समय २०:२९ बजे

















