गृहपृष्ठ आधारभूत स्वास्थ्य सेवा निःशुल्क : उपप्रधानमन्त्री
आधारभूत स्वास्थ्य सेवा निःशुल्क : उपप्रधानमन्त्री
फाइल तस्बिर
ग्रामीण भेगका जनताको स्वास्थ्य सेवामा सहजता ल्याउने उद्देश्यले नेपाल–चीन हिमालयमैत्री समाजले विभिन्न पाँच जिल्लाका नगरपालिका तथा स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको छ ।
नेपालस्थित चिनियाँ राजदूतावासको सहयोगमा खरिद गरिएका पाँच वटा एम्बुलेन्स क्रमशः मण्डन देउपुर नगरपालिका काभ्रेपलाञ्चोक, जुगल गाउँपालिका सिन्धुपाल्चोक, भीमेश्वर नगरपालिका दोलखा, खाँदबारी नगरपालिका संखुवासभा र निबुवाटारी सहकारी स्वास्थ्य केन्द्र मध्यनेपाल नगरपालिका (लमजुङ) लाई हस्तान्तरण गरेको हो ।
समाजको तर्फबाट शनिबार आयोजित एक कार्यक्रमबीच उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालका लागि चिनियाँ राजदूत यु होङको उपस्थितिमा एम्बुलेन्सको साँचो सम्बन्धित निकायका प्रमुखलाई प्रदान गरे ।
सो अवसरमा उपप्रधानमन्त्री यादवले नेपालको सडक सञ्जाल, जलविद्युत्, कृषि, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रको पूर्वाधार विकासमा चीन सरकारको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै स्वास्थ्य केन्द्र र अस्पतालको पहुँचबाट टाढा रहेका जनताका लागि एम्बुलेन्स उपयोगी हुने बताए ।
उनले आधारभूत स्वास्थ्य सेवालाई निःशुल्क र सबै जनताकाबीचमा पु¥याउने लक्ष्यका साथ सरकार अघि बढेको र त्यसका लागि यो वर्ष एक हजार २०० आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण गरी चिकित्सकलाई जनताको सेवामा समर्पित गराउने प्रक्रियामा लागिपरेको जानकारी दिए ।
उपप्रधानमन्त्री यादवका अनुसार १५ श्ययाका अस्पताल स्थानीय सरकारलाई, जिल्ला र क्षेत्रीय अस्पताल प्रदेशलाई र केन्द्रीय अस्पताल तथा प्रतिष्ठानलाई केन्द्र सरकार मातहत रहनेगरी नीतिगत प्रक्रिया अघि बढाइएको छ ।
‘विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरुप नेपालमा सबै जनताको आधारभूत स्वास्थ्य सेवाको प्रत्याभूत गराउन र स्वास्थ्यलाई सेवाको भावनाबाट अघि बढाउने प्रणालीको विकासका लागिपरेका छौं । अब सरकारी अस्पतालका डाक्टरले निजी क्लिनिक धाउने वातावरणको अन्त्य गरी अतिरिक्त समयमा पनि जनतालाई सेवा दिनेगरी व्यवस्थापन गर्दैछौं,’ यादवले भने ।
स्वास्थ्य बीमा सेवाका माध्यमबाट सबै जनतालाई गुणात्मक उपचार पु¥याउने उद्देश्यले ७७ वटै जिल्लामा बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा लैजाने उपप्रधानमन्त्रीको भनाइ थियो ।
चिनियाँ राजदूत होङले चीन नेपालको महत्वपूर्ण विकास साझेदार भएको दुई देशबीचको जनस्तरको सम्बन्धलाई विकास र समृद्धिको दिशामा अघि बढाउन सहयोग र समन्वयात्मक भूमिका निर्वाह गरिने उल्लेख गरे ।
नेपालको उत्तरी क्षेत्र भौगोलिक र सांस्कृतिक हिसाबले चीनसँग निकट रहेकाले सम्पर्क सञ्जाल, सडक, रेल्वे, जलविद्युत्, पर्यटन आदि क्षेत्रमा विकास साझेदारिता, सहयोग अभिवृद्धिको दायरालाई फराकिलो बनाएर लैजाने विश्वास दिलाए ।
प्रकाशित समय २०:४९ बजे
















