गृहपृष्ठ भूमिसम्बन्धी सबै समस्या समाधान गरिन्छ : मन्त्री अर्याल

भूमिसम्बन्धी सबै समस्या समाधान गरिन्छ : मन्त्री अर्याल

padma-aryal-newskarobar

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमाकुमारी अर्यालले भूमिसँग जोडिएका सबैखाले समस्या समाधान गर्न आफूले हदैसम्मको प्रयास गर्ने बताएकी छन् ।

सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा शुक्रबार पदभार ग्रहण गरेपछि उनले भूमिसँग जोडिएका समस्या समाधानका लागि कानुन बनाएर विशेष पहल गर्ने र त्यसका लागि सबैको साथ सहयोग जरुरी रहेको बताएकी हुन् ।

मन्त्री अर्यालले अर्थतन्त्रको प्रमुख आधारका रुपमा रहेको सहकारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहकारीमा छरिएर रहेको पूँजीलाई एकीकृतरुपमा परिचालन गर्ने बताइन् ।

गरिबी निवारणका लागिसमेत सहकारीको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै उनले भनिन्, ‘गरिबी निवारणको प्रमुख आधारका रुपमा सहकारी क्षेत्रलाई परिचालन गर्ने र व्यवस्थित गर्ने योजनामा हामी लाग्छौं, अर्थतन्त्रको प्रमुख आधारसमेत रहेकाले यस क्षेत्रलाई बढी महत्वसमेत दिन्छौं ।’

मन्त्री अर्यालले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को संकल्प पूरा गर्ने दिशामा नै केन्द्रित हुने बताइन् ।

पदभार ग्रहणलगत्तै उनले भूउपयोग कार्ययोजना कार्यान्वयन गर्ने कार्यदल गठनसम्बन्धी प्रस्तावमा हस्ताक्षर गरेकी थिइन् ।

सो कार्यदलको संयोजकमा मन्त्रालयका सहसचिव जनकराज जोशी रहेका छन् । भूमिको उत्पादन र उपादेयताका लागि सो कार्यदलले काम गर्ने बताइएको छ ।

प्रकाशित समय २०:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु