गृहपृष्ठ रौतहटको कटहरिया नगरपालिकाकी उपप्रमुखमाथि भ्रष्टाचार अाराेप
रौतहटको कटहरिया नगरपालिकाकी उपप्रमुखमाथि भ्रष्टाचार अाराेप
निलम्बन गरी छानविन गर्न माग
राैतहटस्थित कहटहरिया नगरपालिकाकी उपमेयरमाथि भ्रष्टाचार अाराेप लागेकाे छ । नगरपालिकाकी कार्यवाहक प्रमुखसमेत रहेकी उपप्रमुखमाथि भ्रष्टाचार अाराेप लागेकाे हाे । कटहरिया नगरपालिकाकी उपप्रमुख नुरजहाँ खातुनले भ्रष्टाचार, अनियमितता र अनुचित कार्य गरेको भन्दै पदबाट निलम्बन गरी छानविन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । खातुन नगरपालिकाकी कार्यवाहक प्रमुख पनि हुन् ।
कटहरीयाका नगरप्रमुख सियाराम कुश्वाहालाई विश्व हिन्दू परिषद् वीरगञ्जका काशी तिवारी हत्याको अभियोगमा उच्च अदालतले जेल सजाय तोकेको थियो । सोही फैसला अनुसार कुश्वाह काठमाडौं कारागारमा छन् । कुश्वाहा कारागार चलान भएपछि नगरपालिकामा खातुन कार्यवाहक प्रमुख भएकी थिइन् । कार्यबाहक प्रमुख भएपछि आर्थिक वर्ष २०७४/७५को बजेट खर्चमा खातुनले लाखौं भ्रष्टाचार गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौंलाई आवश्यक कारबाही गर्न सिफारिस गरेको छ ।
नगरपालिकाले मन्त्रालयलाई लेखेको पत्रमा ‘यस न.पा.को कार्यवाहक नगर प्रमुख नुरजहाँ खातुनको कार्यकालमा भ्रष्टाचार, अनियमितता र अनुचित कार्य गरेको हुनाले कार्यपालिकाको बैठक बसी दोषी ठहर गरेको अनुसार निलम्बन गरी छानविन गर्नको लागि सिफारिस साथ अनुरोध छ,’ उल्लेख छ ।
त्यसै गरी कार्यवाहक प्रमुख तथा उपप्रमुख खातुनलाई कारबाही गर्ने नगर कार्यपालिकाको निर्णयमा ‘यस कटहरिया नगरपालिकाको आ.व. २०७४/७५ को बजेट खर्चमा उप नगर प्रमुख नुरजाहाँ खातुनले आर्थिक अनियमितता गरी लाखौं भ्रष्टाचार गरेको तथा निरन्तर अनुचित कार्य नगरपालिकालाई अस्त व्यस्त एवं बदनाम गराएकोले उहाँलाई पदबाट निलम्बन गरी छानविन गर्न सम्बन्धित निकायमा सिफारिस गर्ने सर्वसहमतिबाट निर्णय’ भएको उल्लेख छ ।
यही भदौ २० गते बसेको नगर कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो । निर्णयसँगै नगरपालिकाले मन्त्रालयलाई पत्रचार गरेको छ । मन्त्रालयलाई नगरपालिकाले पठाएको पत्रमा जिल्ला प्रशासन कार्यालय गौर, रौतहट, जिल्ला समन्वय समिति गौर, रौतहट एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय हेटौंडालाई बोधार्थ दिइएको छ । उक्त पत्रमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामलाल सहनीको हस्ताक्षर छ । कार्यपालिकाको निर्णयमा भने नगरकार्यपालिकाका सदस्यहरुले हस्ताक्षर गरेका छन् । कार्यपालिकाको निर्णय अनुसार नगरपालिकाले मन्त्रालयलाई ‘आवश्यक कार्यवाही सम्बन्धमा’ भन्र्दै पत्र काटेको हो ।

स्रोतका अनुसार यसअघि नगर कार्यपालिकाको बैठक बस्दा पटक–पटक गत आर्थिक वर्षको हिसाब किताब फछ्र्यौट गर्न माग हुँदै आएको थियो । तर, कार्यवाहक प्रमुख बनेकी उपप्रमुख खातुनले गत आवको हिसाब पछि गर्ने भन्दै पहिले परिषद् गर्न दबाब दिँदै आएकी थिइन् ।
कार्यवाहक प्रमुख खातुनको यो व्यवहारबाट असन्तुष्ट नगरकार्यपालिकाका सदस्यहरुले उनीमाथि अविश्वासको प्रस्तावनै ल्याएका हुन् । बुधबारको बैठकले उक्त प्रस्ताव दुई तिहाई बहुमतले पारित गरिएको छ । सोही बैठकले उनीमाथि अविश्वास प्रकट गर्दै निलम्बनको मागसमेत गरेको छ ।
यही विवादका कारण नगरपालिकाको यस आर्थिक वर्षको बजेट पारित हुन सकेको छैन । उपप्रमुख खातुनले सबैभन्दा पहिले गत आर्थिक वर्षको खर्चलाई अनुमोदन गर्नुपर्ने र चालु आर्थिक वर्षका लागि बजेट पारित गर्नुपर्ने भन्दै दबाब दिँदै आएको स्रोतले बतायो ।
संघीयता कार्यान्वयनको शीलशीलामा सिंहदरबारको अधिकार गाउँ गाउँमा पुगेपछि त्यसले अबसर र चुनौति दुवै दिएको थियो । अवसर स्थानीय तहले स्थानीय स्रोत र साधनमा नियन्त्रण पाएका थिए जसको सदुपयोग हुन सकेमा सम्बन्धित स्थानीय तहले समृद्दिको उदाहरण पनि प्रस्तुत गर्न सक्दथे । तर, चुनौति ति तहले पाएको अवसरको दुरुपयोग हुनबाट रोक्नुमा थियो । कटहरीयाकै सन्दर्भमा नगरप्रमुख कारागारमा रहँदा कार्यवाहक प्रमुख बनेकी खातुनमाथि नगरकार्यपालिकाले भ्रष्टाचार गरेको आरोप सहित तालुकदार निकायमा कारबाहीका लागि पत्राचार गरेको छ ।
संघीयताकै कारण जनताका अधिकार जनताकै घरदैलोमा पुगीरहँदा यो प्रकरणले अख्तियार लगायतका नियामक र अख्तियारको दुरुपयोग हुनबाट रोक्ने निकायको प्रभावकारिताको टड्कारो आवश्यकता औंल्याएको छ । कार्यपालिकाको दुई तिहाई बहुमतले उपप्रमुखमाथि अविश्वास प्रकट गर्दै कारबाहीको सिफारिस गरेपछि नगरपालिकामा खैलाबैला मच्चिएको छ । यो सँगै कार्यपालिकाका सदस्यहरुलाई आफूतिर तान्ने होड चलेको पनि स्थानीयबासीहरु बताउँछन् ।
प्रकाशित समय १७:१७ बजे
















