गृहपृष्ठ साढे नाै वर्षमा पनि पूरा भएन दुर्इ तले भवन निर्माणको काम

साढे नाै वर्षमा पनि पूरा भएन दुर्इ तले भवन निर्माणको काम

ठेकेदारको चरम लापरबाही : कोचीएर बस्छन् कैदी

१८ कोठाको दुई तले भवन निर्माण गर्न कति समय लाग्छ ? कल्पना गर्नुस् जब यही काम नौ वर्ष भन्दा बढी समयमा पनि पूरा हुँदैन अनि कसरी अघि बढ्छ विकास निर्माणको काम ?

कुरा हो सुर्खेत कारागारको । कारागारस्थित निर्माणधीन भवन लामो समयदेखि अलपत्र बनेको छ । निर्माण कार्य सुरु भएको झण्डै एक दशक हुन लाग्यो तर, १८ कोठे दुई तले भवन निर्माणको काम अझै सम्पन्न भएको छैन ।

वि.सं. २०६६ साल असार २५ गते सम्झौता भई कारागार निर्माणको कार्य सुरु भएको थियो । सम्झौता अनुसार वि.सं. २०६७ चैत २५ गते निर्माण सम्पन्न भइसक्नु पर्ने थियो । निर्माण सम्पन्न भइसक्नुपर्ने मिति भनेर तोकिएको २०६७ चैत २५ पूरा भएको साढे आठ वर्ष भइसक्दा पनि उक्त दुई तले भवन निर्माणको कार्यले पूर्णता पाएको छैन ।

अझ रोचक कुरा त के भने निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनी पछिल्लो पाँच वर्षदेखि सम्पर्कविहीन भएको सरकारी कार्यालयले प्रतिक्रिया दिएको छ ।

काठमाडौंको जि.एम. कन्स्ट्रक्सनले सो भवन निर्माण गर्ने ठेक्का लिएको थियो । भवन निर्माणको ठेक्का लिएपछि निर्माण पूरा गर्नु त कहाँ हो कहाँ ठेकेदार कम्पनीका पुरुषोतम मानन्धर पाँच वर्षदेखि सम्पर्कमा नआएपछि भवन निर्माण कार्य अलपत्र बनेको छ ।

वि.सं. २०६७ चैत २५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने पहिलो सम्झौता भए पनि ठेकेदार कम्पनीले पटक पटक म्याद थप गरायो । सरकारी कार्यालयले पनि २०७० फागुन २० सम्मका लागि तेस्रोपटक म्याद थप गरिदियो । त्यसपछि सम्पर्कविहीन भएको जनाइएको छ ।

भवन निर्माणको कार्यान्वयन गरिरहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले कम्पनसँग २ करोड ३६ लाख ९८ हजार पाँच सय नौ रुपैयाँ ५५ पैसामा १८ कोठे दुई तले भवन निर्माण सम्झौता गरेको जानकारी दिएको छ । कार्यालयका अनुसार करिब पाँ वर्षदेखि उक्त कारागारको निर्माणाधीन भवनको काम अलपत्र अवस्थामा छ ।

उता कम्पनीले आधा काम गरेर १ करोड ७७ लाख ४३ हजार २० रुपैयाँ भुक्तानी लिइसकेको कार्यालयले जानकारी दिएको छ । दुईमध्ये एक तलामात्रै निर्माण गरेको र त्यसमा झ्याल, ढोका लगायतका फिनसिङको काम पूरै बाँकी रहेको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

 

घर सूचना टाँस गरेका छौं : लेखा अधिकृत पराजुली

१८ कोठाको दुई तले भवन निर्माणको कार्य साढे नौ वर्षमा पनि पूरा नहुँदा समेत त्यसको जिम्मेवार निकाय के गर्दै छ ? यो स्वाभाविक प्रश्न हो । किनकि ठेकेदारसँगको सम्झौतापश्चात् पनि त्यसको अनुगमन मूल्यांकनलगायतका कार्य सरकारी निकायले नै गर्ने गर्दछन् ।

सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृत परशुराम पराजुलीले ठेकेदार पुरुपोतम मानन्धर सम्पर्कविहीन भई फेला पार्न नसकेपछि घरसूचना टाँस गरिएको बताए ।

‘हामीले पटक–पटक ठेकेदारको नाममा चिठी काटेका छौं । प्रत्येक वर्ष १०÷१२ वटा सम्म चिठी ठेकेदारको नाममा काटेको रेकर्ड छ,’ लेखा अधिकृत पराजुलीले भने, ‘त्यती गर्दासमेत ठेकेदार सम्पर्कमा नआएपछि प्रहरीको सहायताले घर पत्ता लगाई घर सूचना टाँस गरेका छौं ।’

नौ वर्षभन्दा लामो समयसम्म भवन निर्माणको कामले पूर्णता पनि नपाउने र ठेकेदार पनि सम्पर्कविहीन भएपछि डिभिजन कार्यालयले कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने तयारी गरेको पराजुलीले जानकारी दिए ।

‘कम्पनीको नाममा गएको पेश्कीसमेत हामीले झिकिसकेका छौं,’ उनले न्युज कारोबारसँग भने, ‘कम्पनीले सरकारलाई लगाएको घाटापूर्तिका लागि घरघरानाबाट असुल उपर गरी नयाँ ठेक्काको तयारीमा लागेका छौं ।’ यो काम आर्थिक वर्ष २०७५÷७६ भित्रै गरिसक्ने तयारी रहेको लेखा अधिकृत पराजुलीले बताए ।

उता समयमा भवन निर्माण नहुँदा कैदीबन्दी पालमुनी सुत्न बाध्य भएको कारागार कार्यालय सुर्खेतका जेलर लालबहादुर खत्रीले बताए । ‘ठेकेदार कम्पनीले समयमा भवन निर्माणको काम सम्पन्न नगर्दा कैदी बन्दीहरु मर्कामा परेका छन्,’ जेलर खत्रीले भने, ‘हामीसँग भवन क्षमता ५० जनाको मात्रै हो । तर हाल १ सय ९७ जना कैदीहरु बस्नुपर्दा ठूलो समस्या भएको छ ।’

समयमै कारागार भवन नबन्दा आफूहरु तथा कैदीहरुले सास्ती व्यहोर्नुपरेको जेलर खत्रीले बताए । उनका अनुसार भवन अभावका कारण शौचालय, खान बस्न र सुत्नसमेत पालो गर्नुपर्ने वाध्यतामा कैदीबन्दीहरु छन् ।

प्रकाशित समय १७:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु