गृहपृष्ठ यातायात कार्यालयमा विचौलियाको बिगबिगी, गेटमै ठगिन्छन् सेवाग्राही
यातायात कार्यालयमा विचौलियाको बिगबिगी, गेटमै ठगिन्छन् सेवाग्राही
यातायात व्यवस्था विभाग भन्छ- निर्देशन दिएका छाैं, कार्यान्वयन गर्ने जिम्मा सम्बन्धित कार्यालयको हो ।
तपाईं यातायात व्यवस्था कार्यालय एकान्तकुना जाँदै हुनुहुन्छ भने सजग रहनुस् नत्र विचौलियाको फन्दामा पर्नुहोला । यातायात कार्यालयमा सेवाग्राहीको सधैं भीड लाग्छ । काठमाडौं उपत्यकाका चार ठाउँबाट सेवा प्रवाह सुरु गरिए पनि सेवाग्राही एकान्तकुना नै पुग्ने गरेका हुन्छन् । कति सेवाग्राहीलाई काठमाडौंका अन्य ठाउँबाट पनि सेवा लिन सकिन्छ भन्ने जानकारी नै नहुन सक्छ ।
आइतबार पनि एकान्तकुनाको कार्यालयमा सेवाग्राहीको बाक्लो उपस्थिति थियो । दसैंपछि खुलेको र साताको पहिलो दिन भएकाले पनि कार्यालयमा सेवाग्राहीको भीड लागेको हो । कति सेवाग्राही कता जाने, के गर्ने भन्ने अलमलमा थिए । गेटमै आइपुगे एक युवा । सेवाग्राहीको नागरिकता र लाइसेन्स थुत्दै ती युवाले भने, ‘तपाईंलाई लाइसेन्स रिन्यु गर्न पूरै दिन लाग्छ म एकैछिनमा गरेर ल्याइदिन्छु ।’ उनको परिचय माग्दा दिन इन्कार गरे । पछि थाहा भयो, उनी विचौलिया रहेछन् । ती सेवाग्राही रिसाउँदै आफ्नो कागजपत्र विचौलियाबाट लिएर कार्यालयभित्र पसे ।
कार्यालयहरुमा सोधपुछ शाखा पनि हुन्छ । कहाँ जाने, के गर्ने अन्योल भए सोधपुछ शाखामा सोध्ने हो । तर, यातायात कार्यालयको सोधपुछ शाखाभन्दा विचौलियाको शाखा छिटोछरितो छ । विचौलियाहरु सोधपुछका लागि गेटमै आइपुग्छन् । तर, कार्यालयको सोधपुछ शाखा कता हो, अत्तोपत्तो छैन । नजानेको विषयमा जानकारी लिँदा कर्मचारी झर्कने गरेको सेवाग्राहीको गुनासो छ । विचौलियाका कारण सेवाग्राही हैरान छन् । विचौलियाले बढी पैसा लिएर कर्मचारीसँग मिलेर काम गर्ने गरेको आरोप लाग्ने गरेको छ ।

लाइसेन्सको फोटो खिच्ने शाखामा टोकन सिस्टम राखिएको छ । जसका कारण सेवाग्राहीले केही सहज महसुस गर्न पाउँछन् । जब फोटो खिचेर लाइसेन प्रमाणित गर्ने र राजस्व तिर्ने शाखामा सेवाग्राही पुग्छन्, त्यहाँको अस्तव्यस्तता र भद्रगोलले आजित बनाउँछ । बीच–बीचमा विचौलिया घुस्दा सेवाग्राही घण्टौं लाइनमा बस्न बाध्य भइरहेका हुन्छन् ।
पाँच मिनेटको कामका लागि पूरै दिन बिताउनुपर्ने बाध्यतामा सेवाग्राही हुन्छन् । एकजना विचौलिया लाइनमा अगाडि बस्छन् । उनका अन्य साथीले फाइल ओसारपसार गर्छन् । पछाडि बस्ने सेवाग्राहीको पालो कार्यालय समय सकिने समयमा बल्लतल्त आउँछ । अनि भित्रबाट कर्मचारी कराउँछन्, ‘आज समय सकियो भोलि आउनुस् ।’
सरकारलाई राजस्व तिर्न गएका सेवाग्राही कतिबेला पालो आउँछ भनेर झ्यालमा कुरेर बस्ने गरेका छन् । राजस्व संकलन हुने ठाउँमा न सुरक्षा छ, न त शान्त नै । तँछाडमछाडले राजस्व संकलन शाखा मेला स्थलझैं देखिन्छ । भीडभाड गर्ने र होहल्ला मच्चाएर तनाव सिर्जना गर्ने पनि तिनै विचौलिया ।
यातायात कार्यालयमा विचौलियालाई यसअघि पक्राउ नगरिएको पनि हैन । तर, कार्यालयकै केही कर्मचारीको बदनियतका कारण विचौलिया नियन्त्रण हुन सकेको छैन । एक दिन पक्राउ गर्ने अर्को दिन छोड्ने गरिन्छ । त्यसपछि अनुगमन हुँदैन । त्यसको फाइदा विचौलियाले उठाएका छन् ।
सरकारले स्मार्ट लाइसेन्सको व्यवस्था गरेको छ । तर, सेवाग्राहीले स्मार्ट लाइसेन्स एक वर्षसम्म पनि पाउन सक्दैनन् । कार्ड प्रिन्ट गर्ने मेसिन थोरै भएका कारण ढिलाइ भएको कार्यालयको प्रस्टोक्ति छ । तर, सार्वजनिक सेवा प्रवाह चुस्त बनाउने उद्घोष गरेको ओली सरकार गठन भएको नौ महिना बितिसक्दा यस्तो कार्यालयको अवस्था ‘बीसको उन्नाइस’ छैन ।
लाइसेन्स छाप्न प्राइभेट कम्पनीलाई दिइएकाले अब छिट्टै समाधान हुने यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्याय बताउँछन् । यातायात कार्यालयहरुमा विचौलिया नियन्त्रण गरेर सेवाग्राहीलाई प्रभावकारी सेवा दिन पटक-पटक निर्देशन दिइएको बताए । तर, आफ्ना निर्देशन पालना भए/नभएको र सेवाग्राहीले छिटोछरितो सेवा पाए/नपाएकोबारे कहिल्यै खोजी नगर्ने विभागका कारण समस्या कहिल्यै समाधान हुन सकेको छैन । यातायात कार्यालयका काम-कारबाहीलाई प्रविधिमैत्री बनाउने चासो पनि सरकारले लिएको पाइँदैन । जसका कारण बेथिति, भद्रगोल र अव्यवस्था झन् बढ्दै गएको सेवाग्राहीको गुनासो छ ।
प्रवक्ता उपाध्याय प्रभावकारी सेवा प्रवाहका लागि सबै कार्यालयलाई निर्देशन दिइएको तर कार्यान्वयन गर्ने जिम्मा सम्बन्धित कार्यालयको भएको बताउँछन् । ‘कार्यालयहरुलाई सिसि क्यामेरा र टोकन सिस्टमबाट सेवा दिन उपकरणको व्यवस्था गरिएको छ,’ उनी भन्छन्, ‘कार्यान्वयन गर्ने काम सम्बन्धित कार्यालयकै हो ।’
उनको जवाफप्रति सेवाग्राही सन्तुष्ट छैनन् । कार्यान्वयन गर्ने जिम्मा कार्यालयको हो भनेर पन्छिन विभाग नमिल्ने उनीहरु बताउँछन् । भन्छन्, ‘निर्देशन दिएपछि कार्यान्वयन भए/नभएको अनुगमन किन गर्दैन विभाग ? यातायात कार्यालयहरुले निर्देशन कार्यान्वयन नगरेकोप्रति विभाग किन मौन छ ?’
विचौलियाका कारण सेवाग्राही मर्कामा परेको भए अनुगमन गरेर नियन्त्रण गरिने प्रवक्ता उपाध्यायले बताए । ‘सेवाग्राहीले छिटोछरितो सेवा पाउनुपर्छ, कोही कसैको कारण सेवाग्राही ठगिएको भए अनुगमन गरेर कारबाही गर्छौं,’ उनले भने ।
प्रकाशित समय १६:३७ बजे
















