गृहपृष्ठ नेकपाले मंसिरभित्र सबै कमिटीको एकता टुंग्याउने

नेकपाले मंसिरभित्र सबै कमिटीको एकता टुंग्याउने

ढिलाइप्रति नेपाल पक्ष असन्तुष्ट

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी एकताका सबै प्रक्रिया आगामी मंसिरभित्र सक्ने भएको छ । जेठ ३ गते केन्द्रमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकता भई बनेको पार्टीको सबै तहको समायोजन मंसिर मसान्तभित्र सक्ने नेकपाको लक्ष्य छ । यसअघि सबै तहको समायोजनाको भाखा पटक–पटक सार्दै आएको नेकपा अब भने मंसिर भित्रै प्रदेश, स्थानीयदेखि जनवर्गीय संगठनसम्म एकता सक्ने तयारमा जुटेको हो ।

 

यसको लागि दुई सदस्यीय कार्यदलले काम गरिरहेको छ । प्रदेश कमिटी सदस्य चयन, जिल्ला कमिटीलगायतको टुंगो लगाउन गठित कार्यदलले यस विषयमा गृहकार्य गरिरहको कार्यदल सदस्य विष्णु पौडेलले जानकारी दिए । ‘मंसिरभित्रमै सबै तहको संगठन समायोजन गरिसक्छौँ, सबैलाई जिम्मेवारी वाँडफाट हुन्छ,’ पोडेलले भने । ७ प्रदेश, ७७ जिल्ला, ४ विशेष जिल्ला र २२ जनसंगठनको एकता कार्यदलले अन्तिम कसरत गरिरहेको छ ।

 

पार्टी एकता घोषणा भएको ६ महिनामा नेकपाले ९ सदस्यीय सचिवालय र ४५ सदस्यीय स्थायी कमिटी गठन गरेको छ । पार्टीको विधानअनुसार केन्द्रीय कमिटीको एकतिहाई सदस्य पोलिटब्यूरो हुने भनिए पनि अहिलेसम्म गठन भएको छैन । प्रदेश कमिटी, जिलला कमिटी, स्थानीय तह तथा वडा कमिटीबीच समायोजन हुन सकेको छैन । जनवर्गीय संगठनको एकतासमेत अन्योल छ ।
पार्टी सचिवालयले सात वटै प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरिसकेको छ । यद्यपि, नेता माधवकुमार नेपाल पक्षले विरोध जनाएका कारणले पार्टीभित्र तीव्र विवाद देखिएको छ । प्रदेश कमिटीको पदाधिकारी चयनसँगै उत्पन्न विवादका कारण पार्टी एकताको काममा अवरोध भएको नेताहरु बताउँछन् । ‘पार्टी एकतालाई पूर्णता दिने ऐजेण्डामा बैठक बस्छ, तर बैठक ऐजेण्डाकेन्द्रित हुँदैन, पार्टीका विवादबारे चर्चा गर्दागर्दै बैठक सकिन्छ,’ एक नेताले भने । विवादकै कारण प्रदेश कमिटीका सदस्य, जिल्ला एवं स्थानीय तहका कमिटीका साथै जनवर्गीय संगठनहरुको टुंगो लाग्न समय लागेको बताइएको छ ।

 

एकताको जिम्मेवारी पाएका नेताले समयमै काम गर्न नसक्दा पनि एकता प्रक्रिया अलमलमा परेको नेता नेपाल पक्षका नेताहरुको भनाइ छ । स्थायी समिति सदस्य बेदुराम भुसाल भन्छन्, ‘तल्ला तहको एकता गर्न ढिलाइ भैसकेको छ, यसबाहेक जिम्मेवारी बाँडफाँट हुन सकेको छैन, एकजना अध्यक्ष बिरामी हुनुहुन्छ, छिट्टै बैठक बसेर पार्टीलाई गतिशील बनाउने रणनीति तय हुन्छ होला ।’ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बिरामी छन् । अस्पतालबाट डिस्चार्ज भए पनि उनी निवासमै आराम गरिरहेका छन् । अर्का अध्यक्ष दाहाल विभिन्न कार्यक्रममा व्यस्त छन् । ओलीको अस्वस्थताका कारण र कार्यदलले तयारी नसक्दा मंसिर १२ गते बस्ने भनिएको स्थायी समिति बैठक बस्न सकेन ।

‘कार्यदलले प्रदेश कमिटीका सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट गरी प्रतिवेदन सचिवालयमा बुझाउँछ, त्यसपछि सचिवालय बैठकबाट नयाँ विधि एवं मापदण्डका आधारमा सदस्य चयन र जिम्मेवारी बाँडफाट हुन्छ : विष्णु पौडेल, महासचिव, नेकपा

 

पार्टीका अध्यक्षद्धय ओली र प्रचण्डले पार्टी एकता टुंगो लगाउन चासो नदिएका कारण समयमै काम हुन नसकेको नेपाल पक्षका नेताहरुको आरोप छ । नेता योगेश भट्टराई अध्यक्षद्धयलाई समयमै बैठक गरी एकता टुंगो लगाउन सुझाव दिन्छन् । ‘एक साता अघि बस्नुपर्ने स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित छ, सचिवालयले तथा कार्यदलले तत्काल गृहकार्य सकेर स्थायी समिति बैठक बोलाउनुपर्छ, मुलुक हाँकिरहेको यत्रो पार्टीलाई यसरी पेन्डुलम बनाउनु हुँदैन, चलायमान बनाउनुपर्छ,’ भट्टराईले भने ।

 

उता, सदस्यहरुको जिम्मेवारी बाँडफाँडका साथै प्रदेश सदस्यका लागि नयाँ विधि र मापदण्ड तय गर्न गठित कार्यदलले भने तीव्र रुपमा काम गरिहरेको दाबी गरेको छ । पार्टी सचिवालय सदस्य रामबहादुर थापा र महासचिव पौडेल रहेको आन्तरिक तयारीमा रहेको बताइन्छ ।
कार्यदल सदस्य पौडेल भन्छन्, ‘कार्यदलले प्रदेश कमिटीका सदस्य र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँड गरी प्रतिवेदन सचिवालयमा बुझाउँछ, त्यसपछि सचिवालय बैठकबाट नयाँ विधि एवं मापदण्डका आधारमा सदस्य चयन र जिम्मेवारी बाँडफाँट हुन्छ ।’

 

पूर्वघटक एमाले र माओवादीबीचको भागबन्डामा भन्दा नामावलीमा शीर्ष नेताबीच असन्तुष्टि चुलिएको छ । यसबाहेक पूर्वएमालेमा संस्थापन पक्ष र नेता नेपाल पक्षबीच सन्तुलन मिलाउनुपर्ने भएकाले कार्यदललाई प्रतिवेदन तयार पार्न सकस परेको बताइन्छ ।

प्रकाशित समय १४:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु