गृहपृष्ठ नेपाल संवत् ११३९ सुरु, आत्मशुद्धिका लागि आजै म्हः पूजा

नेपाल संवत् ११३९ सुरु, आत्मशुद्धिका लागि आजै म्हः पूजा

नयाँ ‘बही’ खाताको सुरुवात

नेपाल संवत् ११३९ सुरु भएको छ । नयाँ वर्ष आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

खासगरी यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्दै आएका छन् । आजै नेवार समुदायले म्हः अर्थात् आत्म पूजा समेत गर्छन् । राष्ट्रिय विभूति शंखधर शाख्वाले बि.सं. ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गराएका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डाक्टर त्रिरत्न मानन्धरले जानकारी दिए । बि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा नेपाल संवतलाई नयाँ वर्षका रूपमा मनाउने गरिएको छ ।

गरिब जनताको ऋणमोचन गरि सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्यांकन गर्दै २०५६ सालको नयाँ वर्षका दिन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शाख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए । २०६५ सालमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणासमेत गरे ।

कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परा छ ।

आज नेवार समुदायमा आत्म सुद्धिका लागि म्हः अर्थात् आत्मा पूजासमेत गरिन्छ ।
कात्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो आत्म (म्हः) पूजा पर्व मनाइन्छ । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित समय ०९:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु