गृहपृष्ठ सडक दुर्घटनाका कारण मोरङमा ५ महिनामा ४२ जनाको मृत्यु
सडक दुर्घटनाका कारण मोरङमा ५ महिनामा ४२ जनाको मृत्यु
विराटनगरस्थित ६ लेनको सडकमा डिभाइडरका कारण दुर्घटना बढ्यो
व्यापारिक मार्ग विस्तार परियोजनाको रानी-विराटनगर-इटहरी-धरान सडकखण्ड अन्तर्गत विराटनगरस्थित ६ लेनको सडकमा पछिल्लो समय दुर्घटना बढ्दै गएको छ । निर्माण सम्पन्न भएको उक्त सडकमा राखिएको डिभाइडरका कारण पछिल्लो समय दुर्घटना बढेको हो ।
बरगाछीदेखि ढाटसम्म निर्माण भई सञ्चालन भइरहेको सो सडकमा दुर्घटनाको जोखिमलाई ख्याल नगरी बरगाछीदेखि राजवंशी चोकसम्म सडकमा डिभाइडर राखिएको छ । सडकको बीचमा राखिएका डिभाईडरहरु ठूला आकारका छन् भने सडकमा चालकका लागि कुनै पनि ट्राफिक चिन्ह राखिएको छैन ।

भर्खरै निर्माण भएको सो क्षेत्रमा पर्याप्त सडक बत्ती पनि जडान गरिएको छैन । जसका कारण रातिको समयमा सवारीसाधनहरु डिभाइडरमा ठोक्किएर दुर्घटना हुने गरेका छन् । जसलाई जिल्ला ट्राफिक कार्यालय मोरङको तथ्यांकले पनि उजागर गरेको छ । मोरङमा चालु आर्थिक वर्षको मंसिरसम्म (साउनदेखि मंसिरसम्म) २१६ सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङको तथ्यांक छ ।
दुर्घटनाबाट मोरङमा ५ महिनामै ४२ जनाको मृत्यु भइसकेको छ । सवारी दुर्घटना बढीजसो राजमार्ग क्षेत्रमा हुने गरेका छन् । डिभाइडर राखेको ठाउँमा पनि कम समयमा थुप्रै दुर्घटना भइसकेका छन् । चालकहरुलाई सवारी साधन चलाउँदा सुरक्षित र सजिलो होस् भनेर सडकमा राखिने डिभाइडरको उपयुक्त व्यवस्थापन नहुँदा दुर्घटनाको मुख्य कारण बन्ने गरेका छन् ।

डिभाईडरमा रिफ्लेक्टर नहुँदा र राति डिभाईडर दखिनेगरी बत्ती नराखिँदा दुर्घटना बढेको चालक तथा स्थानीय बताउँछन् । विरटनगरमा सिटी रिक्सा चलाउँदै आएका योगेन्द्र मण्डलले भने, ‘डिभाइडर एकदमै ठूलो छ त्यसैले दुर्घटना बढि रहेको छ । राति डिभाइडर देखिँने वत्ती समेत छैन जसले डिभाइडरमा सवारी साधन ठोकिएर दुर्घटना हुने गरेका छन् ।’
‘वरगाछीदेखि ढाट सम्म ट्राफिक संकेत समेत राखिएको छैन । सडक वत्ति पनि छैन । दिनहुँ यस क्षेत्रमा कुनै न कुनै दुर्घटना भइरहेको हुन्छ,’ मण्डलले भने, ‘कति जनाको त घटना स्थलमै मृत्यु भइसकेको छ ।’

फाट्ट फुट्ट दुर्घटना भइराखे पनि घटनास्थलमा नै मृत्यु हुने गरी दुर्घटनाहरु बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले आफ्नै सक्रियतामा दुर्घटनाको जोखिम भएको ठाउँमा रिफ्लेक्टर राखेको छ । सडकमा रिफ्लेक्टर लगायतका ट्राफिक चिन्हहरु सडक निर्माण कम्पनीले नै लगाउनुपर्ने भए पनि जिल्ला ट्राफिक प्रहरी कार्यालयको सक्रियतामा शुक्रबार राती रिफ्लेक्टर राखिएको हो ।
यसअघि पनि ट्राफिक प्रहरीले सो क्षेत्रमा दुर्घटना कम गर्न चिन्ह राखेको थियो । ती चिन्हहरु अहिले मेटिइसकेका छन् र भर्खरै लगाइएका रिफ्लेक्टर पनि दीर्घकालीन रुपमा काम दिने किसिमका छैनन् ।

सडक डिभिजन कार्यालय तथा महानगरलाई रोड साइनिङको बारेमा पटक पटक जानकारी गराए पनि वास्ता नगरेपछि जिल्ला प्रहरी कार्यलयले ३५ सय रुपैयाँको बजेटमा रानीदेखि विराटनगर गेटसम्म डिभाईडरमा रिफ्लेक्टर राखिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले बताए । तीव्र गति र रोड मार्किङ नहुँदा पनि दुर्घटना बढेको उनको भनाई छ ।


तस्बिर : न्युज कारोबार
प्रकाशित समय १३:२९ बजे

















