गृहपृष्ठ आन्तरिक उत्पादनलाई छैन प्रोत्साहन, टेन्डर प्रक्रियामै असन्तुष्ट उद्योगी
आन्तरिक उत्पादनलाई छैन प्रोत्साहन, टेन्डर प्रक्रियामै असन्तुष्ट उद्योगी
‘टुथपेस्ट भने पो प्रतिस्पर्धा हुन्छ, टेन्डरमा कोलगेट टुथपेस्ट भनिन्छ कसरी प्रतिस्पर्धा गर्नु ?’
एक अर्ब रुपैयाँ लागतमा स्थापना भएको शिवम् प्लास्टिक उद्योगले कृषि, माछा पालन, टनेल, पोल्ट्री फार्मलगायतमा उपयोग हुने प्लास्टिक त्रिपालको उत्पादन गर्दै आएको छ । गोल्यान ग्रुपले सुनसरीको दुहबीमा स्थापना गरेको शिवम् प्लास्टिकले नेपालमा पहिलोपटक ८ महिनाअघि ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लास्टिक त्रिपालको उत्पादन सुरु गरेको हो ।
८ महिना अघि उत्पादन सुरु गरेको शिवम् प्लास्टिकले मासिक २ सय २५ टनको उत्पादन क्षमता रहे पनि पहिलो महिना ६० टन मात्र उत्पादन गरेको थियो । क्रस लेमिनेटेड त्रिपाल उत्पादन गर्ने नेपालको एक मात्र उद्योग शिवम् प्लास्टिकले अन्तर्राष्ट्रियस्तर भन्दा पनि गुणस्तरीय प्लास्टिक त्रिपाल उत्पादन गर्ने गरेको उद्योगका सञ्चालक निखिन अग्रवालको दावी छ ।

दुवै, सिंगापुर र अस्ट्रियाबाट कच्चा पदार्थ (प्लास्टिक दाना) आयात गरेर उत्पादन गर्दै आएको सो उद्योगले ८ महिनाको अवधीमा ९ सय टन उत्पादन गरिसकेको छ । उत्पादन भएको ३ सय टनबाहेक सबै विक्रि भइसकेको अग्रवालले बताए ।
माग धान्न सक्छौं
उनले नेपालमा वार्षिक २ हजारदेखि २५ सय टनसम्म सो त्रिपालको माग गरेको जानकारी दिँदै आफ्नो उद्योगको वार्षिक उत्पादन क्षमता २५ सय टन रहेको उल्लेख गरे । अग्रवालले भने, ‘हाम्रो अध्यनमा नेपालमा वार्षिक २ हजारदेखि २५ सय छट सम्म खपत छ । हाम्रो उत्पादन क्षमता पनि २५ सय टन हो । यस हिसाबले यहीँको उत्पादनले माग धान्न सक्ने भएकाले बाहिरबाट आयात गर्न आवश्यक देखिँदैन । हामी अझ उत्पादन बढाउने सोचमा छौं ।’

३० वर्षअघि सम्म नेपालमा छिमेकी मुलुक भारतबाट सिल्पोलिन नामक त्रिपाल आयात हुने गरेको थियो । ३० वर्षसम्म विश्वभर उत्पादनको अधिकार सो ब्राण्डसँग मात्र रहेकाले नेपाल लगायत विश्वभर सिल्पोलिनले कब्जा जमाउँदै आए पनि करिब ३ वर्ष अघि त्यो अधिकार समाप्त भएपछि नेपाल लगायत अन्य मुलुकमा पनि क्रस लेमिनेटेड त्रिपालको उत्पादन सुरु भएको र नेपालमा पहिलो तथा एक मात्र उद्योग शिवम् प्लास्टिक उद्योग रहेको अग्रवालले बताए ।
उनले ७० प्रतिशत स्वदेश र अन्य ३० प्रतिशत भारत लगायत तेस्रो मुलुक त्रिपाल निर्यात भइरहको बताए । उनले भने ‘हामीले गुणस्तरमा कुनै कम्प्रोमाइज गरेका छैनौं । विगत ३० वर्षदेखि भारतीय उत्पादनले नेपाल लगायत विश्व बजार कब्जा गरेको थियो । अहिले ३ वर्षदेखि त्यो अधिकार उसँग मात्र छैन । त्यसैले नेपालमा हाम्रो पहिलो र एकमात्र यो उद्योग हो । हामीले अहिले ७० प्रतिशत नेपाल र बाँकि निर्यात गरिरहेका छौं ।’

यी क्षेत्रमा हुन सक्छ प्रयोग
त्रिपाल मसला, खोर्सानी, सुपारी, नरिवल वेसारजसता कृषि उत्पादनह सुकाउन, यात्राका वेला सामान ढाक्न, प्याकेजिङका लागि, टनेल, ग्रिन हाउस, नर्सरी तथ एप्रोनका लागि प्रयोग गर्न सकिने छ । त्यस्तै वर्षतको पानि छेक्ने टहराहरु बनाउन तथा टहराका रुपमा प्रयोग गर्न, विभिन्न निर्माण सामग्रीहरु छोप्न, निर्माण कार्यमा वाटरप्रुफ लेयेर बनाउन, पानी ट्यांकी र पोखरीको लाईनिंग गर्न तथ ठूला आकारका सामान छोप्नका लागि यसको प्रयोग गर्न सकिने छ । यो माछा पालन, पाल्ट्रिफर्म लगायतका लागि उपयोगी रहेको उद्योगले जनाएको छ ।
हलुका, मुलायम तथा दह्रो दोहरो लेमिनेशन गरिएको छेडिने च्यातिनेबाट जोगाउन उच्च डार्ट स्ट्रेन्थ भएको, साधारण घस्राईबाट नच्यातिने, जस्तोसुकै जलवायूलाई थेग्न सक्ने अल्ट्रभ्वाईलेट विकिरण रोक्न सक्ने, शत प्रतिशत वाटर प्रुफ, अधिकांश केमिकलले असर नगर्ने, ओसलाई रोक्ने, स्वीस प्रविधिबाट बनेको तथा विभिन्न आकार रंग र गुणस्तरमा पाइनेलगायतका विषेशता रहेको सुपर पोलिन कृषिका लागि आवश्यक पर्ने प्लाष्टिकमा केही समयअघि सम्म भारतीय ब्रान्डको एकछत्र दबदबा थियो ।

पछिल्लो समय नेपाली उत्पादन ‘सुपर पोलिन’ले गुणस्तरीयता र टिकाउका कारण बजारमा आफ्नो हिस्सा बढाउँदै लगेको छ । गुणस्तर र टिकाउका लागि उद्योगले उद्योग परिसरमै विभिन्न ल्याब परीक्षणपश्चात मात्र त्रिपालहरु बजार पठाउने गरेको छ । उद्योगका प्रविधिक आरके सिंहले सबै उत्पादन परीक्षणपश्चात मात्र बजार पठाउने गरेको बताए ।
उनले भने, ‘हामीले सबै उत्पादन परीक्षण गर्दछौं । परीक्षणका क्रममा केही त्रुटी देखिए त्यसलाई मेकअप गर्छौं । यो प्लास्टिक खेर नजाने र पुनः प्रयोग गर्न सक्ने भएकाले गुणस्तरको मात्रा राम्रोसँग चेक गरेर मात्र उत्पादन उपभोक्ता सम्म पुर्याउँछौं । हाम्रो यहाँ अलग्गै ल्याब परीक्षण कक्ष समेत छ ।’

त्यति मात्र नभई उद्योगले एक पटक खरिद गरिएको त्रिपाल २ वर्षसम्म निर्धक्क चल्ने दावी गर्दै १ वर्षको वारेन्टी समेत दिने गरेको छ । जुन भारतीय त्रिपाल उत्पादित कम्पनीले नदिने गरेको सञ्चालक अग्रवालको भनाइ छ । सो त्रिपाल च्यात्दा समेत नच्यातिने अग्रवालले दावी गरे । उद्योगको एकल प्रयासले नेपाली कृषकहरुलाई स्वदेशी क्रस लेमिनेटेड त्रिपाल ३ दशकपछि मात्र उपलब्ध गराउन सकेको भए पनि सरकारी पक्ष भने स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न नसकेको अग्रवालको गुनासो छ ।
टेन्डरमै गुनासो
उनले मुलुकमा तीन तहको सरकार रहे पनि त्रिपालका लागि टेन्डर आह्वान गर्दा भारतीय ब्राण्डको सिल्पोलिन नामक त्रिपाल किटान गरेरै टेन्डर आह्वान गर्ने गरेका कारण स्वदेशी उद्योगले प्रोत्साहन पाउन नसकेको गुनासो गरे ।
उनले भने, ‘त्रिपालका लागि हाम्रो तीनै तहको सरकारले टेन्डर आह्वान गर्छ । समस्या कहाँ हो भने सरकारले भारतीय ब्रान्डको नामै किटान गरेर टेन्डर आह्वान गर्छ । सरकारले टेन्डर आह्वान गर्दा भारतीय ब्रान्डको सिल्पोलिन भनेर गर्छ उदाहरणका लागि टुथ पेस्ट फरक फरक किसिमका हुन्छन् । कुनै पसलमा गएर टुथपेस्ट माग्नु भन्दा कोलगेट माग्यो भने त पसलेले कोलगेटनै दिन्छ । टुथ पेस्ट भनेपछि पो पसलेले हाम्रोमा यो यो छ कुन दिनु भन्छ । ठिक त्यसै गरी हाम्रो हकमा पनि त्यहि भइरहेको छ ।’

न्यून बीजकीकरण पनि समस्या
नेपाल-भारतबीच खुला सीमाना भएका कारण यसको फाइदा उठाउँदै व्यापारीले भारतीय उत्पादन ‘सिल्पोलिन’ कर नतिरी नेपाल भित्र्याउने गरेका छन् । त्यति मात्र नभई एउटा शीर्षकमा आउनुपर्ने वस्तु अर्कै शीर्षकमा न्यून बिजकीकरणमा भित्रिएको ‘सिल्पोलिन’का कारण पनि स्वदेशी उत्पादनलाई असर परिरहेको अग्रवालको भनाइ छ ।
उनले भन्सारमा न्यून बिजकीकरण भएर भित्रिएको भारतीय उत्पादनले सरकारले पनि वास्तविक रूमा राजश्व नपाएको र स्वदेशी उत्पादनलाई पनि मर्का परिरहेको दावी गरे ।

नेपाली नै सस्तो
अग्रवालले भने, ‘भारतीय शिल्पोलिन जुन शिर्षकमा भन्सारबाट आउनुपर्ने हो । त्यो शिर्षकमा नभई अर्को शीर्षकमा आइरहेको छ । यसले गर्दा कर छली पनि भइरहेको छ र उपभोक्तालाई महंगो समेत परिरहेको छ । जुन शीर्षकमा आउनु पर्ने हो त्यहि शीर्षकमा आउने हो भने उपभोक्तालाई ४० देखी ५० प्रतिशत भन्दा सस्तो पर्न जान्छ ।’
अग्रवालका अनुसारसो उद्योगले उत्पादन गरिरहेको सिल्पोलिन त्रिपालको उपभोक्ता मूल्य नै भारतीय ब्रान्डभन्दा १५ प्रतिशत सस्तो छ । यदि भन्सारबाट भारतीय उत्पादन न्यून बिजिकरणमा नआए कृषकलाई ४० देखी ५० प्रतिशत सम्म सस्तो पर्ने अग्रवालको दावी छ ।

सन् १९९९ मा स्थापना भएको यो प्लाष्टिक कम्पनीले ‘सुपर पोलिन’ क्रस लेमिनेटेड प्लास्टिक त्रिपाल उत्पादन भने केही समयअघि मात्र थालेको हो । हाल सो उद्योगले २ सय ५० वढी कामदारलाई रोजगारी दिइरहेको छ ।
सो उद्योगमा काम गर्ने कामदारले सरकारले तोकेको न्यूनतम पारिश्रमिकदेखि मासिक ५० हजार रुपैयाँसम्म अधिकतम पारिश्रमिक पाउँदै आएको अग्रवालले बताए । पर्याप्त प्रोत्साहन नपाए पनि नेपालको एक मात्र क्रम लेमिनेटेड सुपर पोलिन त्रिपालले भारतीय उत्पादनलाई चुनौति दिँदै आएको छ ।



प्रकाशित समय १७:१६ बजे

















