गृहपृष्ठ हाँडी गाउँको जात्रा र किंम्बदन्ती (फोटो फिचर)

हाँडी गाउँको जात्रा र किंम्बदन्ती (फोटो फिचर)

रथ बनाउने जिम्मा भारतीय नागरिकलार्इ

कहीँ पनि नभएको जात्राका रुपमा परिचित जात्रा काठमाडौंको हाँडी गाउँमा सदाझैँ यस वर्ष पनि धूमधामका साथ मनाइएको छ । कोजाग्रत पूर्णिमाको दिन मूर्तिहरु बाहिर निकालेपछि औपचारिक रुपमा जात्रा सुरु हुन्छ । भोलीपल्ट उक्त मूर्तिहरु रथमा राखेर नगर परिक्रमा गराइने यो जात्रा अन्य जात्राहरुभन्दा भिन्न भएकाले यसलाई कहीँ पनि नभएको जात्राको रुपमा चिनिन्छ ।

सुरु सुरुमा तीन दिनसम्म आयोजना गरिने यो जात्रा आजभोली भने एक दिनमै पूरा गर्ने गरिएको छ । काठमाडौंको हाँडी गाउँमा लाग्ने यो जात्रा नेवार समुदायको संस्कार र संस्कृतिको एउटा अनुपम उदाहरण भएको विश्लेषणसमेत हुँदै आएको छ ।

सत्यनारायणलाई खुसी पार्न मनाइने यो भएकाले स्थानीयहरु यसलाई ‘सत्यनाराणको जात्रा’को रुपमा मनाउछन् । अरुको तुलनामा सबै कुरा उल्टो भएकाले यस जात्रालाई कहीँ नभएको जात्राको रुपमा चिन्ने गरेको स्थानीय बाबुराम महर्जनले बताए ।

जात्राका क्रममा ब्रह्मा, विष्णु र महेश्वरको तीन वटा रथलाई टोल–टोल परिक्रमा गराइन्छ । यसरी परिक्रमा गराईने तिन वटै रथ उल्टो हुन्छ ।

यो जात्रा कहिलेबाट सुरुवात भएको हो भन्ने विषयमा आफूलाई थाहा नभएको हरिकृष्ण डंगोलले बताए ।

यस्तो छ किम्बदन्ती
यो जात्राको किम्बदन्ती तीन जना महिलामा आधारित छ । परापूर्व कालमा दूई जना दिदीवहिनी मध्ये एउटीले धर्मकर्म मान्ने गर्थिन् भने अर्कीले मान्दिन थिइन् । धर्मकर्म नमान्ने बहिनीले धर्मकर्म मान्ने अरु महिला जस्तै साधारण रुपमा गर्भवती हुन सक्ने बताइन् । तर, गर्भधारण गरेर पनि १२ बर्षसम्म सुत्केरी नभएपछि हिमालय पर्वतमा गई नारायणको आराधना गरेकी थिइन् भन्ने किम्बदन्ती पाइन्छ ।

उनले नारायणलाई आफूले कहीँ नभएको जात्रा देखाउने भनेर खुसी पारी सुत्केरी भएकाले यो जात्रा मनाउन थालेको भन्ने विश्वास रहेको डंगोलले बताए । ‘हामीलाई पनि खासै त्यस्तो केही थाहा छैन,’ डंगोलले न्युज कारोबरसँग भने, ‘बाजे, बराजुले भनेको यस्तै हो, कुनै लिखित रुपमा यसको बारेमा मैले पनि कतै पाएको छैन ।’ ती महिलाले नाराणलाई खुसी पारी आफ्नो मनोकामना पूरा गरेपछि काठमाडौंको हरि गाउँ (हाडी गाउँ)मा आएर यो जात्रा सुरु गरेको स्थानियको बुझाई छ ।

अर्का स्थानीय बेखालाल डंगोल पनि जात्राको विषयमा विस्तृत जानकारी नभएको बताउँछन् । जात्रामा सहभागी हुन आएका उनले यस बारेमा अहिलेसम्म कुनै लिखित प्रमाण फेला नपरेको बताए ।

२५ वर्षदेखि रथ बनाउने जिम्मा भारतीयलाई
यो जात्राको रथ नेवार समुदायका मानन्धरहरुले बनाउनु पर्ने नियम रहेको बुढापाकाहरु बताउँछन् । मानन्धरले रथ बनाउनुपर्ने जात्राको नियम भए पनि विगत २५ वर्षदेखि भारतीय नागरिक सौदागर शर्माले जात्राको रथ बानाउँदै आएका छन् ।

हाँडी गाँउका मानन्धरकै घरमा बसी सुरुमा मानन्धरहरुलाई रथ बनाउन सहयोग गरेका शर्माले पछिल्लो समय रथको सबै काम गर्दै आएका छन् । हाँडी गाँउमा मानन्धरको संख्या थोरै भएको र पछिल्लो पुस्तालाई यसको बारेमा खासै जानकारी नभएकाले शर्माले रथ बनाउँदै आएको स्थानीय बताउछन् ।

तस्बिर ः सुनिल प्रधान

प्रकाशित समय १७:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु