गृहपृष्ठ दबाबमा देउवा : प्रकाशमानको घरमा असन्तुष्टको छलफल
दबाबमा देउवा : प्रकाशमानको घरमा असन्तुष्टको छलफल
हालै सम्पन्न महासमिति बैठकको म्यान्डेटविपरित केन्द्रीय समिति बैठकले बहुमतका आधारमा निर्णय गरेपछि नेपाली कांग्रेसभित्रको असन्तुष्टि अझ चुलिएको छ । जसको फलस्वरूप नेपाली कांग्रेसका संस्थापनइतर नेताहरू छलफलमा जुटेका छन् ।
त्यसरी छलफलमा जुट्नेहरूमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत छन् । यसअघि सिटौला र रामचन्द्र छुट्टाछुट्टै (प्यानल) बनाएर महाधिवेशनमा प्रतिश्पर्धा गरेका थिए ।
पौडेल र सिटौला पक्ष संस्थापन पक्ष बहुमतका बलमा आफूहरूलाई पेलेर जाने मनस्थितीमा रहेको निस्कर्षमा पुगेका छन् । महासमिति बैठकको म्यान्डेटविपरित केन्द्रिय समितिले बहुमतको आधारमा निर्णय गर्नुलाई उनीहरूले सोही रूपमा अर्थ्याएका छन् ।
उता, कांग्रेस केन्द्रीय समितिको उक्त निर्णयप्रति जिल्ला सभापतिहरू पनि असन्तुष्ट देखिएका छन् । कांग्रेसका ५६ जिल्ला सभापतिले केन्द्रीय समितिको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय सच्याउन माग गरेका छन् । उक्त निर्णय नसच्याए विशेष महाधिवेशन बोलाउन उनीहरूले माग गरेका छन् ।
अर्कातर्फ जिल्ला सभापतिहरूले केन्द्रीय समितिले गरेको निर्णय सच्याउन माग गरेको भोलीपल्टै संस्थापन पक्षइतरका नेताहरू छलफलमा जुटेका हुन् ।
पूर्वमहामन्त्री प्रकाशमान सिंहको घरमा भएको उक्त छलफलमा पौडेल, सिटौला, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सितादेवी यादव, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, शेखर कोइराला, कमला पन्त, मिनेन्द्र रिजाल, प्रदीप पौडेललगायतका नेताहरू सहभागी थिए ।
प्रकाशित समय १५:१९ बजे
















