गृहपृष्ठ जनार्दन शर्मा भन्छन् : नेता व्यवस्थापनका लागि एकता भएको होइन
जनार्दन शर्मा भन्छन् : नेता व्यवस्थापनका लागि एकता भएको होइन
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले तत्कालीन माओवादीका तर्फबाट स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरू चयन भइसकेको बताएका छन् । ‘भोलिसम्ममा पार्टीको स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यहरुको टुंगो लागिसक्छ,’ आइतबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘हामीले केन्द्रीय सदस्यहरु टुंगो लगाइसकेका छौं, खाली सेटिङमा राख्नमात्रै बाँकी छ ।’
नेता शर्माले नेकपाको वर्तमान सचिवालय सदस्य संख्या काफी रहेको बताए । ‘सचिवालय सदस्य ९ जना नै काफी छ, नेताहरूको व्यवस्थापनका लागि संख्यामा तलमाथि हुँदैन,’ उनले भने, ‘पार्टीमा नेता थुपार्न र पद वितरण गर्न एकता भएको होइन ।’ मुलुकको समृद्धि र आर्थिक रुपान्तरणका लागि एकता भएकाले जनताले त्यसको अनुभूति चाँडै गर्ने उनको स्पष्टोक्ति छ ।
पुराना संस्कार, संस्कृति, प्रवृत्ति र मान्यताको अन्त्य नगर्दासम्म समृद्धिको बाटो तय हुन नसक्ने उनको भनाइ छ । ‘सरकारले अब शिक्षा, स्वास्थ्यलगायत क्षेत्रका सबैखाले फोहोर सोहोर्ने काम गर्छ,’ नेता शर्माले भने, ‘सबैखाले विकृति-विसंगतिको अन्त्य गरेर समृद्धि ल्याउँछौं ।
आगामी पाँच वर्षसम्म सरकारको नेतृत्व परिवर्तन नहुने उनको भनाइ छ । ‘अबको पाँच वर्षसम्म ओली नै प्रधानमन्त्री हो, त्यसमा तलमाथि हुँदैन,’ शर्माले भने । एकता महाधिवेशनपछि एकजना मात्र अध्यक्ष रहने उनको भनाइ छ ।
प्रकाशित समय १७:३२ बजे
















