गृहपृष्ठ कांग्रेस भन्छ– सरकारले सिन्कै भाँचेन
कांग्रेस भन्छ– सरकारले सिन्कै भाँचेन
- प्रदेश नम्बर ५ सरकारको १०० दिन
बुटवल– प्रदेश नम्बर ५ को सरकारको एक सय दिनको कामको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आलोचना गरेको छ । रुपन्देहीको बुटवलमा आयोजित कार्यक्रममा कांग्रेस प्रदेश नम्बर ५ का संसदीय दलका नेता बलदेव शर्मा पोखरेलले सरकारले पाइला नै नचालेको आरोप लगाए ।
प्रदेश सरकारले भएको पैसा खर्च गर्न नसकिरहेको अवस्थामा सरकारबाट अन्य आशा गर्न नसकिने उनको भनाइ छ । ‘सरकार प्रतिपक्षीलाई बेवास्ता गर्दै मनपरि ढंगले अगाडि बढिरहेको छ,’ नेता शर्माले भने ।
तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले भने सय दिनमै विरोध गर्नु ‘विरोधका लागि विरोध’मात्र रहेको भन्दै सरकारको बचाउ गरे । ‘सरकारले शून्यबाट काम सुरु गरेको छ, मन्त्रालय र बस्ने ठाउँसमेत सरकार गठन भएपछि नै खोजिएको हो,’ उनले भने, ‘यस्तो अवस्थामा कामको मूल्यांकन गर्नु विरोधका लागि मात्र हो ।’
सरकारले आठ विधेयक पेस गरेकोमा चारवटा पास भएको र चारवटा पाइपलाइनमा रहेको बताउँदै नेता ढकालले सरकारले तीव्रताका साथ विकासको अवधारणा तयार पारिरहेको जानकारी गराए । ‘स्रोत–साधन र पूर्वाधारका कारण सरकारले समस्या खेपिरहेको छ,’ उनले भने, ‘अब कामले तीव्रता पाउँछ ।’ उनले सरकारले जेठ २० गते नीति तथा कार्यक्रम र असार १ गते बजेट ल्याउने जानकारी गराए ।
संघीय समाजवादी फोरमका सांसद सहश्रराम यादवले गठन भएको सय दिनसम्म सरकारले पूर्णता नपाएको भन्दै सरकारमाथि प्रश्न उठाए । ‘प्रदेशको नाम राख्ने तयारीसमेत भएको छैन,’ उनले प्रश्न गरे, ‘के यो सरकारको लाचारी होइन ?’
पूर्वसांसद विनोद पहाडीले प्रदेश सरकारले पाइलै नचालेको आरोप लगाए । सबैभन्दा बढी अवसर रहेको यो प्रदेशमा सुरक्षा, महँगी नियन्त्रणलगायतका काममा सरकारले ठोस कदम चाल्न नसकेको उनको भनाइ छ ।
प्राध्यापक सुदर्शन नेपालले सरकारका नीति राम्रा भएको पनि कार्यान्वयन सुस्त भएको धारणा राखे । नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईंले सरकारप्रतिको आशा क्रमशः निराशामा परिणत हुँदै गएको बताए ।
नेपाल ट्रेड युनियन कांग्रेस रुपन्देहीका निवर्तमान अध्यक्ष काजीमान श्रेष्ठले सरकारको अनुभूति जनताले प्रत्यक्ष रुपमा गर्न नपाएको भनाइ राखे । त्यस्तै, उद्योग वाणिज्य संघ बुटवलका वाणिज्य उपाध्यक्ष हरि अर्यालले प्रदेश सरकारले सुशासन र सुव्यवस्था अनुभूत गराउन नसकेको जिकिर गरे ।
प्रकाशित समय १५:५७ बजे
















