गृहपृष्ठ कांग्रेसमा २९८ नेता-कार्यकर्तालाई कारबाही

कांग्रेसमा २९८ नेता-कार्यकर्तालाई कारबाही

congress-newskarobar.com

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा चुनावी धङधङी अझै गएको छैन । २०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा एवं संघीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उभिएको भन्दै कांग्रेसले यतिखेर धमाधम कारबाही गरिरहेको छ ।

कांग्रेसको केन्द्रीय अनुशासन समितिले तत्कालीन चुनावमा उम्मेदवारविरूद्धका गतिविधिमा संलग्न रहेको भन्दै कांग्रेसले २९८ जनालाई कारबाही गरिसकेको छ । पहिलो चरणमा २३५ र दोस्रो चरणमा ४० जना नेता-कार्यकर्तालाई कारबाही गरेको कांग्रेसले सोमबार २३ लाई कारबाही गरेको हो ।

समितिले पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, तिनका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका नेता तथा कार्यकर्तालाई पार्टीको विधानबमोजिम कारबाही गरेको कांग्रेसले जनाएको छ ।

कांग्रेसले तेस्रो चरणमा सोमबार सोलुखुम्बुका २०, रौतहटमा दुई र दैलेखमा एक जना नेता–कार्यकर्तालाई कारबाही गरेको संयोजक भीष्मराज आङ्देम्बेले जानकारी दिए । समितिले असार ३ गतेको निर्णयबमोजिम कारबाही गरिएका व्यक्तिलाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन पनि निर्देशन दिएको छ ।

समितिले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका र उनीहरूका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएकाहरुको नामावली समितिमा पठाउन बाँकी जिल्लालाई तत्काल नामावली पठाउन पनि निर्देशन दिएको उनले बताए ।

२०७४ सालको प्रदेशसभा र संघीय संसदको निर्वाचनमा नराम्रो पराजय व्यहोरेको कांग्रेसले पार्टीभित्रको अन्तरघातलाई प्रमुख कारण मानेको छ ।

प्रकाशित समय १८:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु