गृहपृष्ठ ‘प्रधानमन्त्री ओली भारतको अगाडि सत्ताका लागि भिखारी भए’

‘प्रधानमन्त्री ओली भारतको अगाडि सत्ताका लागि भिखारी भए’

राजाको शासन भएको भए ज्ञानेन्द्रको ठाउँमा ट्यापे पारस हुन्थ्यो

राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताका लागि भारतको अगाडि भिखारी भएको आरोप लगाएका छन् ।

आइतबार एमसीसी, कालोबजारी महँगी, भ्रष्टाचारबिरुद्ध २२ दलले धनगढीमा पनि निकालेको र्‍यालीलाई सम्बोधन गर्दै उनले वर्तमान सरकार लिपुलेक लिम्पियाधुरालाई समेटेर नक्सा लिकालेर भारतसँग सौदाबाजी गरिरहेको आरोप लगाएका हुन् । सम्बोधनका क्रममा उनले भने, ‘अहिले सरकार लिपुलेक लिम्पियाधुरासहित नक्सामा सामेल गरेको भूमिकाबिरुद्ध भारतसँग सम्झौता गर्दैछ । त्यो तुच्छ स्वार्थ जम्मा दुई वर्ष सरकार चलाउन पाऊँ भन्ने हो । अहिले केपी ओली वास्तवमा भारतको अगाडि सत्ताका लागि भिख माग्ने भिखारी स्थापित भएका छन् ।’

देशका लागि लड्ने पार्टी र नेता जनताका अगाडि सधैं अमर रहने उनको भनाइ थियो । ‘हिजोको दिनमा उनीहरुले महाकालीबाट एक खर्ब बढीको फाइदा हुन्छ भनेर भनेका थिए,’ भट्टले भने, ‘खै त फाइदा अहिले पनि उहाँहरुले कालापानीमा सम्झौता गर्छन् भने त्यसको ठूलो घाटा सरकारले व्यहोर्नुपर्ने छ ।’

अहिले झोला बोकेर मजदूरीका लागि भारत जानेको लर्को हुँदा पनि सरकारले जनहितका कुनै काम नगरेको उनले बताए । उनले भने, ‘सरकारका मन्त्रीहरु ४० अर्बको भ्रष्टाचार गर्छन्, उपचारका लागि विदेशीसँग ऋण लिन्छन् । तर, देशका जनता हरेक नाकाबाट विदेशीरहेका छन् । त्यो सरकारलाई थाहा छैन ।’

ओली र प्रचण्ड सत्ता चलाउने भागबण्डामा रहेको भट्टले बताए । ‘पहिला विहेका लागि केट खोज्न ७ जोर जुत्ता फटाउनुपर्थ्यो,’ भट्टले व्यगंग्य गर्दै भने, ‘अहिले मोबाइल भए बिहे हुन्छ । प्रचण्डले बालुवाटार जाँदा–जाँदा ७ जोर जुत्ता फटाइसके । तर, त्यहाँ नेपाली जनताका लागि छलफल हुनुभन्दा भागबण्डाका लागि बहस हुन्छ ।’

देशमा कोरोनाको त्रास भइरहँदा प्रचण्ड र ओली सत्ताको लडाइँमा रहेको उनले बताए । प्रचण्ड–ओलीबीचका झगडा व्यक्तिगत स्वार्थका लागि झगडा रहेको उनको भनाई थियो । ‘प्रचण्डले कोभिडबाट मरिरहेका जनताका लागि कहिल्यै जुत्ता फटाएनन्,’ उनले भने, ‘त्यो वार्ता प्रचण्ड र केपीको गुटको सम्वृद्धिका लागि मात्रै थियो ।’

राणा कालमा पनि राणाहरुले आफ्नै लागि सम्वृद्धि गरेको बताए । उनले भने, ‘राजा कालमा पनि राजाहरुका लागि सम्वृद्धिनै थियो । अहिले पनि सम्वृद्धि छ नेकपाका नेता र कार्यक्रताका लागि । गरिब जनताका लागि होइन ।’ प्रचण्डले थोरै र ओलीले बढी सम्वृद्धि पाएकै कारण सत्ताको लुछाचुँडी भइरहेको उनले बताए ।

नेकपाले काम नगरेको अवस्थामा हटाउने तागत त तीन करोड जनतामा भएको उनले बताए । ‘लगातार लड्दै आएको राष्ट्रिय जनमोर्चा छ, नेकपाको विकल्प नेकपा माओवादी हुन सक्दैन ?’ उनले भने । अहिले सरकारविरुद्ध नागरिक उत्रिए पनि गणतन्त्रको विकल्प राजा हुन नसक्ने उनले बताए । ‘दलको विकल्प दलनै हुन्, जुन दलले रगतको आहुती दिएर यो देशबाट राजा फाले । ती दलनै हुन् दलको विकल्प ।’ उनले भने ।

अहिलेकी राष्ट्रपतिमा विद्यादेवी भण्डारी कुनै सामन्तकी छोरी होइनन् । तपाई हामी जस्तै गरिब परिवारकी छोरी हुन् । यदि अहिलेसम्म यो देशमा राजाको शासन भएको भए ज्ञानेन्द्रको ठाउँमा ट्यापे पारस हुन्थ्यो । उनले भने, ‘तपाई हाम्रो भाग्य विधाता पारस हुन्थ्यो अनि नेपाली जनताले नस्वीकारेको ट्यापेलाई जबरजस्ती राजा मान्नुपर्थ्यो ।’

२४० वर्ष राजाले शासन चलाएर देशलाई कंगाल बनाएको उनले बताए । ‘त्यसैलाई फेरि देश सुम्पिने कुरा हुन्न । राजावादीहरुले जस्तोसुकै जुलुस निकाले पनि ट्यापे मुन्द्रेहरुको कुनै हैसियत छैन । इतिहासले मिल्काएको शक्तिलाई आज दुई लिटर पेट्रोल र साँझ रक्सी–मासुका डल्ला खाएर तागत देखाउन चाहन्छन् भने उनीहरुको तागत नेपाली जनताले माटोमा मिलाइदिने छन् ।’ उनले भने ।

प्रकाशित समय ११:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु