गृहपृष्ठ भागबण्डा नमिल्दा त्रिपाठीको नेकपा प्रवेश अन्योलमा

भागबण्डा नमिल्दा त्रिपाठीको नेकपा प्रवेश अन्योलमा

hirdayash-tripathi-newskarobar

 

राष्ट्रिय जनता पार्टी नेपाल छाडेर तत्कालीन नेकपा (एमाले)मा प्रवेश गर्ने भनिएका हृदयेश त्रिपाठीलगायतका नेताको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश लम्बिँदै गएको छ । उनीहरुले पाउने भूमिकाको विषयमा नेकपाभित्र अन्यौल देखिएको छ ।

गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सूर्य चिह्नबाट चुनाव लडेका स्वतन्त्र राजनीतिक समूहका त्रिपाठीलगायतका नेताहरू नेकपामा आउने भनिए पनि उनीहरुको पदीय हैसियत मिलाउन नेकपालाई सकस परेको छ । पद बाँडफाँडकै विषयमा कुरा नमिल्दा नेकपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित एक कार्यक्रममा त्रिपाठीलगायतका नेताहरू नेकपा प्रवेश गरेनन् ।

उनी प्रवेश नगरेपछि ओखलढुंगाका कांग्रेस नेता कार्यकर्तालाई मात्र नेकपाका अध्यक्षद्वयले पार्टी प्रवेश गराए । तत्कालीन एमालेको सूर्र्य चिह्न लिई त्रिपाठी नवलपरासीबाट चुनाव लडेका थिए । विजयी बनेपछि उनी संसदमा सत्तारुढ नेकपा सांसदहरूको ‘रो’मा बसिरहेका छन् । त्रिपाठीसहित स्वतन्त्र राजनीतिक समुहका सांसद वृजेशकुमार गुप्ता, नेता पशुपति दयाल मिश्रलगायत पनि नेकपामा आउने भएकाले उनीहरुको पदसमेत टुंगो नलाग्दा पार्टी प्रवेशको मिति पर धकेलिरहेको छ ।

पूर्वमन्त्री त्रिपाठीलाई कुनै एक संसदीय समितिको सभापति बनाउने नेकपाको तयारी छ । उनले भने पार्टीको सचिवालय समितिमा रहनुपर्ने माग गरेका छन् । तर, नेकपा भने उनलाई स्थायी समिति मात्र दिन तयार रहेको नेकपाका नेताहरु बताउछन् ।

को हुन् त्रिपाठी ?
२०७० को संविधानसभा बाहेक उनी २०४८ सालदेखि लगातार संसदमा छन् । यसपटक राजपा छाडेर बामगठबन्धनका साझा उम्मेदवार बनेका उनले ३८ हजार ५ सय ९२ मत ल्याउँदै प्रतिनिधि सभा सदस्यमा विजयी भएका हुन् । उनी लगातार संसदको सार्वजनिक लेखा समितिको सदस्य रहदै आएका छन् ।

सुरुमा उनलाई मन्त्री दिने चर्चा भए पनि नदिएकाले नेकपाप्रति त्रिपाठी सन्तुष्ट छैनन् । तर, आफूले भनेको पद पाएमा पार्टी प्रवेश गर्ने हतारो उनमा रहेको उनी निकटका नेताहरु बताउछन् ।

प्रकाशित समय १७:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु