गृहपृष्ठ केन्द्र सरकारले प्रदेशहरुमा पर्याप्त कर्मचारी खटाएन

केन्द्र सरकारले प्रदेशहरुमा पर्याप्त कर्मचारी खटाएन

प्रदेश ७ का ११ वटा निकायमा कर्मचारी अभाव

प्रदेश नम्बर ७ को ११ वटा निकायमा कर्मचारीको अभाव रहेको छ । प्रदेश सरकारअन्तर्गत रहेका ११ निकायमा ४ सय ६४ कर्मचारीका लागि दरबन्दी स्वीकृत भएको छ । तर, स्वीकृत भएका कर्मचारीलाई पनि खटाइएको छैन ।

प्रदेशका ११ निकायमा १ सय ९९ कर्मचारीमात्र हाजिर भएका छन् । मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका अनुसार प्रदेश नम्बर ७ मा २ सय ७७ जना कर्मचारी खटाउन अझै बाँकी छ ।
संघीय सरकाले प्रदेशहरुमा कर्मचारी खटाउन ढिलाई गरेको आरोप लागि रहेका बेला अब भने प्रदेश सरकारले नै कर्मचारीको खटनपटन गर्ने अधिकार पाएको छ ।

प्रदेश नम्बर ७ को मुख्यमन्त्री तथा मन्त्री परिषदकोे कार्यालयमा ५२ जना कर्मचारीको दरबन्दी स्वीकृत भएकोमा २२ जना मात्र खटाईएका छन् । २२ जनामा समेत २ जना कर्मचारी अझै हाजिर भएका छैनन् भने ३० जना कर्मचारी खटाउन बाँकी छ ।

प्रदेश प्रमुखको कार्यालयमा १९ जना कर्मचारीको दरवन्दी स्वीकृत भएकोमा १३ जना मात्र हाजिर भएका छन । अझै ४ जना कर्मचारी खटाउनै बाँकी छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता विशनसिंह थापाले प्रदेश सरकारका ११ वटा निकायमा कर्मचारीको अभावले कार्य सम्पादनमा समस्या आएको बताए ।

उनका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा १८ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा ३१ जना, भौतिक पुवाधार विकास मन्त्रालयमा ३७ जना कर्मचारी खटाउन बाँकी छन् ।

त्यस्तै समाजिक विकास मन्त्रालयमा ३९ जना, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयमा २६ जना कर्मचारी खटाउन बाँकी छ । भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा ४३, प्रदेश सभा सचिवालयमा २०, मुख्य न्यायाधिवक्ताको कार्यालयमा ९ र प्रदेश लेखा नियान्त्रक कार्यालयमा २० जना कर्मचारी खटाउन बाँकी छ ।

खटाइएका कर्मचारी कार्यालयमा हाजिर नहुँदा कामको चाँप बढ्ने भन्दै समस्या हुने कर्मचारीहरु बताउँछन । नेपाल सरकारले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई कर्मचारी खटन पटनको अधिकार दिएको छ । प्रमुख सचिव लक्ष्मीराम पौडेलले अधिकार प्राप्त भएपछि अकर्मचारी पूर्ति गर्न सकिने बताए ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रमुख सचिव लक्ष्मीराम पौडेलले संघिय सरकारले पठकाएका कर्मचारीको प्रदेश सरकारका कार्यालयहरुमा व्यवस्थापन गर्ने बताए ।

प्रदेश सरकाका कार्यालयहरुले आफैले १८ जना कर्मचारी नियुक्त गरेका छन । काम गर्न सहजताका लागि भन्दै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहितका ६ कार्यालयहरुले कर्मचारी नियुक्ति गरेका हुन ।

प्रकाशित समय ०९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु