गृहपृष्ठ चियापानमा निमन्त्रणा दिने होडबाजी
चियापानमा निमन्त्रणा दिने होडबाजी
नेकपालाई उछिन्दै कांग्रेसले १ लाखलाई बोलायो
नेपाली कांग्रेसले दुुसैं, तिहार, नेपाल सम्वत्, छठलगायत पर्वका अवसरमा देशभर एकसाथ चियापान कार्यक्रम गर्दै छ । दिउँसो १ बजे चियापान सुरु हुने बताइएको छ ।
यसअघि पार्टी मूख्यालयमा मात्र चियापानको आयोजना गर्दै आएको कांग्रेसले यो वर्ष भने एकै दिन, एकै समय र एकै शैलीमा मुलुकभर एक साथ कार्यक्रम आयोजना गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
२०३३ सालमा विपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्किएपछि कांग्रेसले ०३५ सालदेखि प्रत्येक वर्ष जलपान तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ । सोही अनुसार यस पटक पनि निरन्तरता दिँदै कांग्रेसले चियापान गरेको हो ।
काठमाडौं उपत्यकाको तीन जिल्लाका लागि ललितपुर सानेपास्थित पार्टी मूख्यालयमा कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा मुलुकभरबाट १ लाख बढीलाई निम्ता गरिएको प्रवक्ता शर्माले बताए । उनले भने, ‘हामीले १ लाख बढीलाई निम्ता गरेका छौ, हेराैँ कति आउनुहुनेछ ।’ यसअघि सत्तारुढ नेकपाले चियापान कार्यक्रममा ५० हजारलाई निम्ता गरेको थियो । नेकपालाई उछिन्दै काग्रेसले दोब्वर संख्यालाई निम्तो गरेको हो ।
कार्यक्रममा राजनीतिक दलका नेता, मन्त्री, सांसद, संवैधानिक निकायका प्रमुख, सरकारका विशिष्ट श्रेणीका राष्ट्रसेवक, सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, उद्योगपति एवं व्यवसायी, पेशागत एवं बुद्धिजीवी, नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी, सञ्चार गृह, पत्रकार, गैरआवासीय नेपाली संघ–संस्थाका प्रमुखलगायत कांग्रेसका सदस्य एवं शुभेच्छुकलाई चियापानमा निम्ता गरिएको छ ।
नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल जाने बताइएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली भने अस्वस्थताका कारण चियापानमा सहभागी हुने छैनन् । आफ्नै पार्टी नेकपाले आयोजना गरेको चियापानमा पनि उनी जान सकेका थिएनन् ।
हरेक वर्ष बडादसैंको कोजाग्रत पूर्णिमाका दिन आयोजना हुने चियापान कार्यक्रम यसवर्ष पार्टी नेता चक्रप्रसाद बास्तोलाको निधनका कारण पछि सारिएको हो ।
प्रकाशित समय ११:०८ बजे
















