गृहपृष्ठ केपी ओलीपछिको नेता को ?

केपी ओलीपछिको नेता को ?

KP-sharma-oli-newskarobar

अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको संरक्षकत्वमा पूर्व नेकपा एमालेमा झाङ्गिएका दुईवटा गुट माओवादी केन्द्रसँगको एकीकरणपछि तीनवटा बनेका छन् । नेपाल कम्युनिस्ट पार्टी नेकपामा पुष्पकमल दाहाल ‘प्रचण्ड’को संरक्षकत्वमा माओवादी केन्द्र खेमाको शक्तिशाली गुट थपिएको हो ।

तीनवटै गुट आफूलाई शक्तिशाली बनाउने र आ–आफ्नो प्रभुत्व कायम गर्ने ध्याउन्नमा भित्रभित्रै लागिपरेका छन् । नेता नेपालले पूर्व एमालेको पहिचान जोगाउँदै अबको पार्टी नेतृत्व सम्हाल्ने अभीष्ट राखिरहँदा प्रचण्डलाई माओवादी केन्द्र एमालेमा बिलिन भएको होइन भन्ने सन्देश कसैगरी दिनु छ ।

नेताहरुको भनाइअनुसार एकीकरणपछि मुलुकभर बेग्लै उभार सिर्जना गर्न सफल नेकपाको अबको महाधिवेशन सिद्धान्ततः एकता महाधिवेशन हुनेछ । तर, नेपाली राजनीतिको नियती भन्नुपर्छ, यथार्थमा कुनै एउटा गुटले पार्टीको नेतृत्व हात पार्नेछ । त्यसको लागि अहिल्यैदेखि लबिङ सुरु भइसकेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले स्वास्थ्यका कारण पनि आगामी महाधिवेशनमा आफूले अध्यक्ष दाबी नगर्ने सार्वजनिक उद्घोष गरेपछि पार्टीभित्रका गुट विस्तारै सक्रिय हुन थालेका छन् । नेपाल पक्ष र प्रचण्ड पक्षले आफ्नो गुटमा ‘युरिया’ छर्न थाल्दा ओली पक्षका कतिपय नेता भने अलमलिएका छन् । ओली पक्ष पनि अहिल्यैदेखि आफ्नो गुटलाई मैदान उतार्न चाहन्छ । तर, आफ्नो गुटलाई सम्हाल्न सक्ने सर्वस्वीकार्य नेता ओलीसँग छैनन् ।

स्वास्थ्यका कारण पनि आगामी कार्यकाल पार्टी हाँक्न नसक्ने भएपछि ओलीसामु उत्तराधिकारी तयार पार्नुपर्ने चुनौती छ । १२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका ओली अब लामो समयसम्म राजनीतिक सहयोग गर्ने नेतालाई नेतृत्व सुम्पने मनस्थितिमा छन् ।

नेकपाभित्र आगामी महाधिवेशनमार्फत नेतृत्व गर्न चाहना राख्ने नेता धेरै छन् । तर, रहरले मात्र पार्टी चल्दैन । ओली पक्षका अधिकांश नेता नेपाल र प्रचण्डलाई ड्यासिङ दिने स्तरका छैनन् । आगामी महाधिवेशनमा ओली अध्यक्षको प्रत्यासी नबन्ने र यो कार्यकालपछि प्रधानमन्त्री पनि नबन्नेमा प्रचण्ड र नेपाल दुवै विश्वस्त छन् । त्यसो भए, ओली गुटमा प्रचण्ड र नेपाललाई समेत धक्का दिनसक्ने नेता को उदाउला त !

ओली पक्षमा वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका वामदेव गौतम, केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेल र महासचिव विष्णुप्रसाद पौडेल हुन् । गौतमले आफ्नै संरक्षकत्वमा गुट चलाइरहेका छन् । त्यसकारण पनि ओलीको अहिलेको विश्वास पात्र पोखरेल र पौडेल हुन् । ती नेताबीच भावी नेतृत्वको विषयलाई लिएर अघोषित प्रतिस्पर्धा सुरु भइसकेको छ ।

आठौँ र नवौँ महाधिवेशनबाट दुईपटक महासचिव भएका पोखरेल सांगठनिक रुपमा कुशल र चतुर नेता मानिन्छन् । उनी ०३२ सालमा गठित कोअर्डिनेसन केन्द्रदेखि नै लगातार केन्द्रीय कमिटीमा छन् । माधव नेपालले डेढ दशक पार्टी सञ्चालन गर्दादेखि झलनाथ खनाल अध्यक्ष बन्दा र अहिले ओली नेतृत्वमा आएपछि पनि पोखरेल संस्थापनमै छन् । एमालेको नवौँ महाधिवेशनमा आफ्नै प्यानलबाट महासचिव जिते पनि पोखरेललाई ओलीले अझै उत्तराधिकारी बनाउने संकेत दिइसकेका छैनन् ।

ओलीले नेता सुवास नेम्वाङलाई पनि हरेक क्रियाकलापमा सक्रिय गराउँदै लगेका छन् । पार्टीका महत्वपूर्ण काममा संसदीय दलका उपनेता नेम्वाङलाई ओलीले खटाउँदै आएका छन् । लामो समयसम्म सभामुख बनेका नेम्वाङले पनि ओलीका हरेक कदमलाई साथ दिइरहेका छन् । ओलीले दिएको प्राथमिकता नेम्वाङलाई भावी नेतृत्वमा स्थापित गर्ने चाहनाबाट प्रेरित रहेको हुन सक्ने आंकलन पनि भइरहेका छन् । पार्टी एकीकरणपछि सचिवालयमा ल्याएर अप्रत्यासित ढंगले महासचिवको जिम्मेवारी दिइनु नेता विष्णु पौडेललाई उत्तराधिकारी बनाउनुको पूर्वसंकेतका रुपमा अड्कल काट्नेहरु पनि कम छैनन् ।

तर, एकता महाधिवेशनपछि एकल अध्यक्ष बन्न र सिंगो कम्युनिस्ट आन्दोलनको कमान्ड गर्नका लागि प्रचण्ड र नेता नेपालसँग प्रतिस्पर्धा गर्न सक्ने उचाइ र क्षमता पोखरेल, पौडेल, नेम्वाङलगायतका नेतामा नदेखिएको विश्लेषकहरु बताउँछन् । उनीहरुका अनुसार ओली गुटमा यी तीनै नेता सर्वस्वीकार्य बन्न पनि सक्दैनन् ।

ओली गुटमा उनीभन्दा तलका कुनै नेता नेपाल र प्रचण्डसँग प्रतिस्पर्धा गर्ने क्षमताका नभएको राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसी बताउँछन् । उनका अनुसार यही अवस्थामा ओली गुटबाट कोही पनि नेतृत्वमा जान सक्दैनन् । ‘विष्णु पौडेललाई संघर्षभन्दा एकताको मौकामा महासचिव मनोनीत गरियो, ईश्वर पोखरेललाई नेताहरुले विश्वास गर्दैनन्, सुवास नेम्वाङ पनि नेतृत्वका लागि सक्षम भइसकेका छैनन्,’ उनी भन्छन्, ‘आउँदो महाधिवेशनमा झलनाथ खनाल र नारायणकाजी श्रेष्ठलगायतले साथ दिएमात्र ओली गुट नेतृत्वमा जानसक्छ ।’

अध्यक्षको दाबेदार नभएकै हुन् ?
नवौं महाधिवेशनपछि ओलीको उत्तराधिकारीका रुपमा सबैभन्दा बलियो दाबेदार तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी थिइन् । राष्ट्रपति बनेसँगै उनी दौडबाट बाहिरिएकी छन् । जसबाट अन्य नेतालाई उत्तराधिकारी बन्ने बाटो खोलिए पनि ओली गुटमा नेता नेपाल र प्रचण्डसँग डिफेन्स गर्न सक्ने स्तरको नेता नै नभएको वाम विश्लेषक श्याम श्रेष्ठको बुझाइ छ । ‘१५ वर्ष महासचिव भएर पार्टी हाँकेका नेपाल र जनयुद्ध हाँकेर गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेका प्रचण्ड बराबर ओली समूहमा कुनै नेता छैनन्,’ उनी भन्छन्, ‘त्यसैले आउँदो महाधिवेशनमा ओली गुटबाट अरु नेता अध्यक्षको दाबेदारका रुपमा आउलान् भन्ने लाग्दैन ।’

ओलीले वरीयताका हिसाबले आफ्नो गुटमा पोखरेललाई अगाडि राखे पनि पौडेललाई ‘प्रमोट’ गर्न खोजिरहेको विश्लेषक आनन्दराम पौडेल बताउँछन् । अहिले नेकपाका कार्यकर्ताले गुटभन्दा पार्टी जीवनलाई गतिशील बनाउन सक्ने स्तरको नेतृत्व खोज्ने भएकाले ओलीले बनाएको उम्मेदवारलाई नै उनका समर्थकले भोट हाल्छन् भन्ने आधार नरहेको उनले बताए । ‘ओली एक्लैले चाहेरमात्र हुँदैन, महाधिवेशन प्रतिनिधिले नेपाल र प्रचण्डभन्दा कम उचाइका नेतालाई छान्न सक्दैनन्, त्यो अवस्थामा अरु नेता स्वतः अस्वीकृत हुने सम्भावना छ,’ उनले भने ।

‘बहस गर्ने बेला भएको छैन’
महाधिवेशनको माहोल आफ्नो पक्षमा पार्न नेताहरु आन्तरिक तयारीमा जुटिसके पनि खुलेर चर्चा भने गरिरहेका छैनन् । अध्यक्षका दाबेदारहरु नेताहरुलाई आफ्नो पक्षमा तान्ने लबिङमा जुटिसकेका छन् । महासचिव विष्णु पौडेल भने ओलीको उत्तराधिकारीबारेको बहस अहिलेका लागि असान्दर्भिक भएको बताउँछन् । ‘अहिले यो बहस सान्दर्भिक छैन, अहिले एकतालाई पूर्णता दिनु छ,’ उनी भन्छन्, ‘महाधिवेशन आएपछि यो विषयमा चर्चा हुन सक्ला तर अहिले यो बहसले पार्टी जीवनलाई फाइदा गर्दैन ।’

प्रकाशित समय १७:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु