गृहपृष्ठ प्रकाशको सम्झनामा सीताको वेदना

प्रकाशको सम्झनामा सीताको वेदना

एक वर्ष अघि प्रदेश र प्रतिनिधिसभा निर्वाचनले मुलुकलाई छपक्कै छोपको थियो । सबै पार्टीका शिर्ष नेता चुनावकाे प्रचारप्रसारमा थिए । तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि चुनावको प्रचारका लागि एमाले अध्यक्ष केपी ओलीसँग झापा पुगेका थिए । वाम गठबन्धन बनाएर चुनावी प्रचारका लागि उनी झापा पुगेका थिए । ओली र प्रचण्डले एक अर्काको चुनावी क्षेत्रमा पुगेर भोट मागिरहेका थिए ।

झापामा चुनावी सभालाई सम्बोधन गरेर गत मंसिर ३ गते प्रचण्ड काठमाडौं फर्किने तयारी गर्दै थिए । बिहानै उनको मोबाइलमा घण्टी बज्यो । छोरा प्रकाशको दुःखद खबर उनले फोनबाट पाए । प्रचण्ड काठमाडौं आइनपुग्दै प्रकाशले संसार त्यागी सकेका थिए । प्रकाशसँग प्रचण्डको अन्तिम कुरा झापा जानुअघि चितवनमा भएको चुनावी सभामा भएको थियो । चितवनमै सन्चो नभएपछि प्रकाश काठमाडौं फर्किए भने प्रचण्ड झापा लागेका थिए । प्रकाशसँग त्यही दिनको संवाद अन्तिम हुन्छ भन्ने सायद प्रचण्डले सोचेका पनि थिएनन् ।

प्रकाशले संसार छोडेको एक वर्ष बित्यो, अझै पनि प्रचण्ड परिवार सम्हालिन सकेको छैन । त्यो भान सोमबार उनको स्मृति दिवसको दिन प्रष्टै देखिन्थ्यो । प्रकाशको सम्झनामा खुमलटारमा भएको स्मृति सभामा बोल्दा बोल्दै प्रचण्ड भक्कानिए भने पत्नी सीताको आँशु रोकिएनन् । बोल्दाबोल्दै प्रचण्डको गला त अवरुद्ध भयो, आँशु पनि थाम्न सकेनन् ।

एक वर्ष अघिको दिन सम्झदै प्रचण्डले भने, ‘काठमाडौ फर्कने तयारीमा थिए, अचानक खबर आयो, प्रकाश अब रहेनन्,’ उनले थपे, ‘त्यतिबेला मैले र परिवारले त्यो बज्रपात कसरी सह्यौं होला, तपाईहरुको माया प्रेम र सहयोग हुदैनथ्यो भने परिवार विघटन भैसक्थ्यो ।’ त्यतीबोलेपछि प्रचण्डको गला अवरुद्ध भयो । उनी कापिरहेका थिए । प्रचण्डका गला अवरुद्ध हुँदा सबैका आँखा रसाएका थिए ।

करिब ७ मिनेट बोलेका प्रचण्डले भने, ‘नर्भिक हस्पिटलदेखि पेरिसडाँडा र आर्यघाटसम्म प्रकाशप्रति आम युवाको जनभावना जसरी प्रदर्शित भयो त्यसले प्रकाशहरुप्रति हाम्रो जिम्मेवारी छ र हामी एक्लो छौनौं भन्ने विश्वास लाग्यो ।’ ‘उदायमान प्रतिभाको रुपमा उ परिपक्क हुँदै थियो, बाल सुलभ परिपक्क हुँदै थियो विडम्बना घटना घटिहाल्यो’ प्रचण्डले प्रकाशलाई स्मरण गर्दै भने ।

थामिएन आमाको आँशु
स्मृतिसभामा प्रचण्ड पत्नि सीता भावविह्ल देखिन्थिन् । छोरी ज्ञानु गुमाएको केही बर्षपछि नै छोरा गुमाएको पीडामा कुन आमाको आँखा नरसाउँला । छोराको निधनपछि सीताले आफूलाई सम्हाल्न सकेकी छैनिन् । उनी स्मृतीसभामा पटक–पटक मुर्छित बनिन् । छोरा सम्झेर सीता घरी भक्कानिने, निहुरीले, हातले मुख छोपेर रुने गर्थिन ।

प्रचण्डले सम्झाउने प्रयास गरिरहेका थिए । स्मृति सभामा प्रकाशको जीवनीलाई समेटेर एक अडियो प्रशारण गरिएको थियो । जसमा प्रकाशको बाल्यकालदेखि लडाकु जीवन हुँदै मृत्यु सम्मको विषय सुनाइएको थियो । यसले झने सबैलाई स्तब्ध बनाएको थियो । मञ्चको अघिल्लो लहरमा उपराष्टपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रचण्ड, सीता र झलनाथ खनालसँगै बसेका थिए । सीतालाई सम्झाउन छोरी रेणु स्टेजमै पुगेकी थिइन् ।

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड परिवारलाई सम्झाए । उनले शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाउन प्रचण्ड परिवारलाई आग्रह गरे । ‘मृत्यु फर्काउन वा सच्याउन सकिदैँन, संयमता उपनाउनु बाहेक अरु बिकल्प छैन,’ प्रधानमन्त्री ओलीले थपे, ‘जनताको हितमा योगदान गर्न सके प्रकाशप्रति सच्चा श्रद्धाञ्जली हुन्छ ।’

यस्तै, प्रकाश पत्नी तथा खानेपानी मन्त्री बिना मगर पनि भावविह्वल बनेकी थिइन् । उनले पटकपटक पीडा थाम्ने प्रयास गरेपनि रोक्न सकिनन् । कार्यक्रममा अध्यक्ष प्रचण्डले छोरा प्रकाश दाहाल र २ वर्षअघि निधन भएकी छोरी ज्ञानुको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना गरिएको घोषणा गरेका थिए । ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने छोरा प्रकाशको हृदयघातका कारण गत वर्ष मंसिर ३ गते निधन भएको थियो ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु