गृहपृष्ठ रविन्द्र अधिकारी : विद्यार्थी राजनीतिदेखि पर्यटन मन्त्रालयको जिम्मेवारीसम्म
रविन्द्र अधिकारी : विद्यार्थी राजनीतिदेखि पर्यटन मन्त्रालयको जिम्मेवारीसम्म
रविन्द्र अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का आशालाग्दा युवा नेता मध्येमा पर्दथे । दुईवटा संविधानसभा तथा पछिल्लो संसदीय निर्वाचनमा कास्कीबाट ह्याट्रिक गरेका उनले संसदको विकास समितिको सभापति भएर पनि काम गरेका थिए ।
पछिल्लो समय तत्कालीन एमाले र माओवादी केन्द्रले गठबन्धन गरी सरकार गठन गरेपछि उनी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बने । ६०६२/६३ को राजनीतिक परिवर्तनपछि लगातार तीन पटक निर्वाचित हुने तत्कालीन एमालेका कमैमात्र नेतामध्येका अधिकारी पनि एक हुन् ।
पछिल्लो समय भएका केही विवादलाई विर्सने हो भने दुई पार्टी मिलेर बनेको नेकपामा पनि उनलाई आशालाग्दा नेताको रूपमा समेत हेरिएको थियो । कतिपयका बुझाइमा उनमा भावी प्रधानमन्त्री या पार्टी नेतृत्व गर्नसक्ने गुण पनि थियो ।
तर, बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा उनको निधन भयो । मन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाको खबर आएसँगै धेरैले सम्भावित दुःखद समाचारको भयले धेरैलाई सतायो । तर, अन्ततः उनीसहित ७ जनाको निधन भएको खबर आयो । सरकारले घटनाको पुष्टी गर्यो ।
मन्त्री अधिकारीको निधनले मुलुक, सरकार र पार्टीका लागि अपूरणीय क्षति भएको टिप्पणी भइरहेको छ भने सामाजिक सञ्जालहरू उनीप्रतिका समवेदनाले भरिएका छन् । त्यस्तै मिडियाहरूले उक्त दुर्घटनाको खबरलाई प्राथमिकताका साथ प्रकाशित/प्रशारित गरिरहेका छन् ।
को हुन् त रविन्द्र अधिकारी ?
नेकपाका युवा नेता अधिकारी वि.सं. २०२६ वैशाख २२ मा कास्कीको भरतपोखरी गाविसस्थित जमुनाबोटमा जन्मिएका हुन् । लक्ष्मी अधिकारी र इन्द्रप्रसाद अधिकारी उनका माता पिता हुन् भने उनी परिवारका जेठा छोरा हुन् ।
गाउँकै व्रम्ह ज्योति प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा हाँसिल गरेका अधिकारीले शान्ति उदय माध्यमिक विद्यालय (हाल उच्च मावि)बाट माध्यमिक शिक्षा हासिल गरे । पिता माध्यमिक विध्यालयका शिक्षक भएकाले उनको परिवारमा शैक्षिक वातावरण राम्रो थियो । जसको प्रभाव उनको राजनीतिक जीवनमा पछिसम्म परिरह्यो । धेरैले उनलाई वौद्धिक नेताको रूपमा चिन्थे ।
वेला वेलामा प्रकाशित भइरहने उनका लेखहरूले पनि उनको वौद्धितकताको परिचय दिन्थे ।
सानै उमेरदेखि राजनीतिप्रति चासो राख्ने अधिकारीमा त्यसबेला सञ्चालित पञ्चायतविरोधी आन्दोलनले पनि छोयो । उनमा राजनीतिप्रतिको लगाव बढ्नुमा उक्त आन्दोलनको हात रहेको देख्नेहरू पनि धेरै छन् ।
त्यतिमात्र होइन अधिकारी विद्यालयमै अनेरास्ववियु, रेडक्रस, क्लबहरूमा संगठित थिए । त्यस्तै कोचिङ कक्षा, पुस्तकालय, सरसफाई, खेलकुद, सांस्कृतिक कार्यक्रममा पनि उनको सम्लग्नता हुने गर्दथ्यो । जसले उनमा संगठित र सिर्जनसिल क्षमताको विकासमा योगदान दियो ।
राजनीतिमा संगठित हुँदा उनी जम्मा १२ वर्षका थिए । २०३८ सालमा ७ कक्षामा पढ्दै गर्दा सबैभन्दा धेरै भोट पाएर अनेरास्ववियुका सबैभन्दा कान्छा सदस्य भएका थिए ।
विद्यार्थी राजनीति
प्रवेशिका उतीर्ण गरेपछि उनी वन विज्ञान अध्ययन संस्थानमा भर्ना भए । तर, केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गरे । विद्यालयदेखि नै राजनीतिप्रति चासो राख्ने रविन्द्रमा क्याम्पस पढ्न थालेपछि त्यसले थप मलजल हुने अवसर पायो ।
विद्यार्थी राजनीतिमा सक्रियताकै क्रममा २०४४ सालमा उनी अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष भए । त्यस्तै २०४५ मा सोही क्याम्पसको स्ववियु सदस्य तथा २०४५ मै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष भए ।
वि.सं. २०४७ मा अनेरास्ववियुको गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियु सभापति भए । त्यस्तै २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरको स्ववियु सभापतिमा निर्वाचित भए ।
एकपछि अर्को गर्दै राजनीतिक फड्को हान्दै र आफूले पाएको भूमिकामा खरो उत्रँदै उनी वि.सं. २०५६ मा अनेरास्ववियुको अध्यक्ष बन्न सफल भए । त्यसअघि नै वि.सं. २०५३ मा उनी स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित भएका थिए । पञ्चायतविरोधी आन्दोलनमा सक्रिय अधिकारी पटक-पटक गरी ६ महिना जेल परेका छन् ।
शिक्षाको निजीकरण तथा व्यापारिकरणका खरो विरोधी अधिकारीले विद्यार्थी राजनीति गरून्जेल प्राविधिक शिक्षाको विस्तार, गुणस्तरीय शिक्षा, राष्ट्रियताको पहरेदारी जस्ता कुरालाई जोडदारका साथ उठाए । कालापानी मार्च, सीमा सुरक्षा अभियान जस्ता आन्दोलनमा पनि उनको भूमिका अग्रणी रहेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका उनले एसियाली विद्यार्थी संगठन, विश्व प्रजातान्त्रिक युवा संघ लगायत अन्तर्राष्ट्रिय युवा विद्यार्थी संगठनमा सम्लग्न भई भूमिका निर्रवाह गरेका छन् ।
पार्टी राजनीति
– वि.सं. २०४० इलाका पार्टी कमिटीमा सम्लग्न
– वि.सं. २०४५ पर्टीको संगठित सदस्यता प्राप्त
– २०४६/४७ मा पोखरा नगर कमिटीमा सम्लग्न,
– २०४८ पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय,
– २०६० पार्टीको कास्की जिल्ला कमिटीको सचिवमा निर्वाचित,
– २०६३ मा पुन: सचिवमा निर्वाचित,
– २०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्दको आन्दोलनमा पटक-पटक गरी पाँच महिना जेल,
संसद /संविधानसभा
– २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा कास्की-३ बाट निर्वाचित,
– २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा पनि कास्की-३ बाटै निर्वाचित । २०७० को निर्वाचनपछि संसदकत्र विकास समितिको सभापति ।
– २०७४ मा सम्पन्न संघीय संसदको निर्वाचनमा कास्की-२ बाट निर्वाचित ।
– केपी शर्मा ओलीको दोस्रो प्रधानमन्त्रीत्वमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री
प्रकाशित पुस्तक
१. संविधानसभा: लोकतन्त्र र पुनर्संरचना
२. समृद्द नेपाल
साथै विभिन्न राजनीतिक एवं विकाससम्बन्धी लेख तथा रचनाहरू प्रकाशित ।
प्रकाशित समय १८:११ बजे
















