गृहपृष्ठ डुवान रोक्न नाला सफाइ गर्दै विराटनगर महानगर

डुवान रोक्न नाला सफाइ गर्दै विराटनगर महानगर

विराटनगर महानगरपालिकाले वर्षातको समयमा हुनसक्ने डुवान समस्या समाधानका लागि नाला तथा ढल सफाइ अभियानलाई तीव्र पारेको छ । महानगरले सिंघिया र केशलिया खोलासँग जोडिएका सबै शाखा नाला तथा ढल खोल्ने काम गरिरहेको छ ।

महानगरभित्रका मुख्य नाली, पैनी र खोल्साखाल्सी पुरिएकाले सफाइ अभियान थालिएको विराटनगर प्रमुख भीम पराजुलीले जानकारी दिए । विगत वर्षमा जस्तो यो वर्ष पनि डुबानको समस्या नदोहारियोस् भन्नका लागि खोलासँग जोडिएका सबै नाला सफा गर्न लागिएको पराजुलीले बताए । निकासका नाला सफा नहुँदा गत वर्ष विराटनगरबासीले ठूलै सास्ती र क्षति व्यहोर्नुपरेको थियो ।

सामान्य वर्षा हुँदासमेत जलमग्न हुने विराटनगरको यो समस्या समाधानका लागि महानगरले पूर्वतयारी स्वरुप नाला तथा ढल सफाइ अभियान चलाएको हो । ‘व्यापारिक विस्तार आयोजना ६ लेन सडकसँग अधिकांश नाला जेडिएकाले केही डुवान समस्या भने यो वर्ष पनि झेल्नुपर्ने हुनसक्छ,’ प्रमुख पराजुलीले भने ।

हाल वडास्तरमा स्क्याभेटर र जनशक्ति प्रयोग गरेर नाला तथा खोल्साखोल्सी सफा गर्ने काम भइरहेको छ । विराटनगर–१२ स्थित च्याङबारी सफा गराउनका साथै ११ सय मिटर आउटलेट ड्रेन बनाउने काम अन्तिम चरणमा पुगेको महानगरले जनाएको छ । वडा नम्बर ६ र १२ जोडिँदै केशलिया पुग्ने धुदुवा पैनी भने सफा गराउने काम भइसकेको छ ।

त्यस्तै, सिंघिया खोलासँग जोडिएका वडाका सबै नाला सफा गराउने काम भइरहेको छ । सिंघिया र केशलियासँग जोडिएका सबै नाला पूर्णरुपमा सफाइ भए डुवान समस्या धेरै हदसम्म समाधान हुने महानगरले जनाएको छ ।

गत वर्ष साउन अन्तिम साता आएको बाढीका कारण विराटनगरमा ठूलो जनधनको क्षति भएको थियो । सामान्य वर्षा हुँदासमेत ढल तथा नाला जाम भएर विराटनगर जलमग्न हुने गरेको छ । विराटनगरको मुख्य बजार क्षेत्रमा केही क्षण पानी पर्दासमेत घुँडा–घुँडा जम्ने गरेको छ । जसका कारण बेलाबेला दुर्घटनासमेत हुने गरेको छ ।

प्रकाशित समय १८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु