गृहपृष्ठ खस्किएको मधेश अर्थतन्त्रमा जनकपुर रेलकाे टेवा
खस्किएको मधेश अर्थतन्त्रमा जनकपुर रेलकाे टेवा
भारतको जयनगरदेखि जनकपुर हुँदै कुर्था, महोत्तरीको विजलपुराबाट बर्दिवाससम्म विस्तार भइरहेकोे रेल्वे पुनः सञ्चालनमा आउने तयारीसँगै यसले खस्किँदै गएको मधेशको अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
देशको कुल अर्थतन्त्रमा प्रदेश २ को हिस्सा करिब १४ प्रतिशत छ । देशकै मुख्य औद्योगिक–व्यावसायिक करिडोर भए पनि जनकपुर रेल्वे, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखानाजस्ता आर्थिक मेरुदण्डमा चोट पुगेपछि अहिले यो प्रदेशको अर्थतन्त्र सुस्त छ ।
आर्थिक वर्ष २०७५/७६ मा देशका ७ वटा प्रदेशमध्ये प्रदेश २ को आर्थिक वृद्धिदर सर्वाधिक बढी ८.१२ प्रतिशत पुगेको थियो । पुनः सञ्चालनमा आउने नेपाल रेलवेले यस क्षेत्रको आर्थिक गतिविधिलाई बहाल गर्ने यस क्षेत्रका उद्यमी–व्यवसायीहरूले विश्वास व्यक्त गरेका छन् ।
तत्काल जनकपुरदेखि विजलपुरासम्म सञ्चालनका लागि २ सेट रेल निमार्णकर्ता कम्पनीले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । भारत सरकारको स्वामित्वमा रहेको रेल निर्माता कोइकन कम्पनीले ८४ करोड नेपाली रुपैयाँमा २ सेट इन्जिनसहित १० डब्बा शुक्रबार औपचारिक रुपमा हस्तान्तरण गरेको हो ।
२०६९ सालदेखि बन्द भएको नेपाल रेलवे सञ्चालनका लागि भारत सरकारको करिब साढे ११ अर्ब रुपैयाँ (७ अर्ब २१ करोड भारु) आर्थिक सहयोगमा ब्रोडगेज लिक तयार गरिएको छ । यो लिक बनाउनका लागि सन् २०१०/११ बाट भारत सरकारले थालनी गरेको हो ।
जनकपुर–जयनगर रेलमार्ग निर्माणका लागि भारत सरकासँग सन् २०१० मा सम्झौता भएको झण्डै एक वर्षपछि काम थालिएको थियो । सन् २०१० मा सम्झौता भएका पाँचवटा अन्तरदेशीय रेलमार्ग निर्माणमध्ये यो पहिलो चरणमा निर्माण थालिएका रेलमार्ग हुन् ।
अहिले एक इन्जिनसहित ५ डब्बाले एक पटकमा १३ सय यात्रुलाई ओसार्ने क्षमता रहेको नेपाल रेल कम्पनीका सिडिई देवेन्द्रप्रसाद साहले जानकारी दिए । भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–जनकपुर–बर्दिबास (६९ किमि) मध्ये जयनगर–जनकपुर–बिजलपुरा (५२किमि) को खण्ड पूरा भएपछि रेल नेपाल आएको हो । बिजलपुरादेखि बर्दिबास (१७ किमि) खण्डको पनि तयारीको काम भइरहेको छ ।
जयनगरदेखि कुर्थासम्म ८ वटा स्टेशन रहेको छ । जयनगर, इनर्वा, खजुरी, महिनाथपुर, बैदेही, परवाहा, जनकपुर र कुर्था रहेको छ । कुर्थादेखि विजलपुराको काम समेत ९० प्रतिशत सम्पन्न भएको छ ।
रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनीले कर्मचारी भर्ना प्रक्रिया खोलेको छ । कर्मचारी भर्ना गरि काम सञ्चालन गर्न २ महिना समय लाग्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराइले जानकारी दिए । उनले अहिले रेल नेपाल सरकारलाई निर्माणकर्ता कम्पनीले दिएको र नेपाल सरकारले चाँडै रेल कम्पनीलाई हस्तान्तरण गर्ने बताए ।
रेललाई विहान, दिउसो र बेलुका गरि दैनिक ३ पटक सञ्चालन गर्ने लक्ष्य लिएको छ । यसअघि सन् २०१८ को डिसेम्बरबाटै रेल सेवा सञ्चालनमा आउने भनिए पनि रेल निर्माता कम्पनीले दुई वर्ष ढिला गरी रेलका इन्जिन र यात्रुबाहक डब्बा हस्तान्तरण गरेको हो । शुक्रबार रेल हस्तान्तरण गरिए पनि कोरोना भाइरस महामारी नियन्त्रणमा आएपछि मात्र यसको सञ्चालन सुरु हुने बताइएको छ ।
यसअघि रेल विभागले २०१८ को डिसेम्बर महिनामै कुर्थासम्म रेल सञ्चालन हुने, सन् २०१९ भित्रै कुर्थादेखि महोत्तरीको भङ्गाहा (बिजलपुरा स्टेसन) सम्म १७ किलोमिटर दूरीमा लिक ओछ्याइ रेल सञ्चालन गर्ने र सन् २०२० भित्र बिजलपुराबाट बर्दिवाससम्मको १८ किलोमिटर दूरीमा पनि रेल सञ्चालन गर्ने दाबी गरेको थियो । तर, अझै बाँकी काम अगाडि बढेको छैन ।
ढिला गरी भए पनि लामो समयदेखि बन्द भएको रेल नयाँ संचरनामा चल्ने भएपछि जनकपुरका उद्योगी–व्यवसायीहरु यसले जनकपुरको व्यापार, व्यवसाय र पर्यटकिय दृष्टिकोणले समेत प्रत्यक्ष रुपमा फाइदा हुने बताएका छन् ।
भारतीय सिमाबाटै आउने रेलमा अहिले तत्कालै यात्रु ओसार्ने बोगी(डब्बा) मात्रै रहेको छ । मालवाहक नभएकाले गर्दा मालसमान ल्याउनका लागि असहजता भए पनि अन्य हिसावले गर्दा जनकपुरको व्यापार,व्यवसाय र पर्यटकीय हिसावले चहलपहल बढ्ने आशा रहेको विश्लेषक अवधेश कामतले बताए ।
व्यवसायी जानी खान रेल सञ्चालनपछि जनकपुर हुदै जयनगर र अन्य ठाउँ जाने र आउने यात्रुहरुको संख्यामा वृद्धि हुन र त्यसले यहाँको होटल, व्यापार, व्यवसायी र पर्यटकीय हिसावले समेत योगदान पुग्ने उनको भनाइ छ ।
यो पनि पढ्नु होस्ः
जनकपुर आइपुग्यो रेल, हेर्नेको घुइँचो (११ तस्बिरमा हेर्नुहोस्)
जनकपुर-जयनगर रेल : स्थानीय व्यवसायीमा आशाको सञ्चार
कुर्था-जयनगर रेल सञ्चालनको तयारी
नेपालमा रेल : चीनबाट आउने कुरामात्रै, भारततर्फको काम धमाधम
सन् २०१८ भित्रै नेपालमा गुड्ला त रेल ?
प्रकाशित समय १३:५० बजे

















