गृहपृष्ठ धार्मिकदेखि सहासिक खेलले पोखरामा पर्यटक आकर्षण बढ्दै

धार्मिकदेखि सहासिक खेलले पोखरामा पर्यटक आकर्षण बढ्दै

पोखराका पर्यटकीय गतिविधि कस्ता-कस्ता छन् ?

मौसम खुल्दा अधिकांश सडकबाटै माछापुच्छ्रे सहितका हिमश्रृखलाको दृश्यावलोकन गर्न सकिने विश्वकै अति नै रमणिय सुुन्दर नगरी पोखरा घुमघाम गर्ने धेरैको रोजाई हुन्छ । पर्यटनको सिजन होस् वा नेपालीहरुको महान पर्वको अवसर नै किन नहोस ।

यस्ता विशेष समयमा बालबालिकादेखि धेरै युवा जमात हुँदै बृद्धबृद्धाहरुकोसमेत घुमघामको पहिलो रोजाई पर्छ पोखरा । प्रकृति र संस्कृतिको धनि पोखरा वातावरणीय हिसबले पनि सुन्दर र शान्त भएको भन्दै आउँछन् आन्तरिक तथा बाह्य पर्यटकहरु ।

भारतको सिमाना सुनौलीदेखि सडक मार्गबाट बुटवल तथा नारायणगढ हुँदै पोखरा, काठमाडौं देखि पोखरा, उत्तरको नाका केरलाबाट लोमाङथाङ, मुस्ताङ हुँदै पोखरा तथा पूर्वबाटसमेत सडक मार्ग हुँदै पोखरा आउने गरेको पाइन्छ । त्यस्तै भैरहवा, चितवन, मुस्ताङ लगायतको क्षेत्रबाट समेत हवाई मार्ग हुँदै पोखराको बसाइमा पर्यटक आउने गरेका छन् ।

सामान्यतया पोखरामा सिटी टुरको रुपमा एक/दुई दिनको बसाई गर्न सकिन्छ । पोखरालाई आधार बनायर अन्नपूर्ण बेस क्याम्प, पुन हिल, घोरेपानी टाडापानी लगायतको क्षेत्रमा ट्रेकिङ गर्न सकिन्छ । त्यसोत पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइड बाहेक पोखरा आसपासका डाँडा क्षेत्रमासमेत होटल तथा रिसोर्टहरु निमार्ण भएसँगै केही पर्यटकहरुको पोखरादेखि केही टाडा क्षेत्रमा बसाई हुने गरेको छ ।

धम्पुस, सराङकोट, पुम्दी भुम्दीको विश्व शान्ति स्तुपाको अनदु डाँडा, काँहुडाँडा तथा धराहरा, सुन्दरीडाँडा, रुपाकोट, कुष्ती, लगायतका क्षेत्रमा पर्यटकको रोजाई बढ्दै गएको छ । पुम्दीकोट र सराङकोट दृश्यावलोकनको हिसाबले उतिकै उत्कृष्ट गन्तव्य हुन् । पुम्दीकोट टावरबाट फेवाताल, पोखरा, हिमश्रृखला सहितको दृश्य देख्न सकिन्छ ।

अक्टुबर, नोभेम्बर वर्षकै सबैभन्दा बढी पर्यटनको उपयुक्त समय वा पर्यटनको सिजन मानिन्छ । मौसम खुल्ने वर्षात नहुने र जाडो सुरु हुने यस सिजनमा युरोपदेखि एसिय, मित्रराष्ट्र चीन र भारतबाटसमेत पर्यटकहरु नेपाल आउने गरेका छन् ।

यस सिजनमा नेपालीहरुमा पनि केही न केही ठाँउमा घुमघाम गर्नुपर्छ भन्ने मान्यताले विदाको दिनमा समेत नेपालीहरुमा घुमघामको प्रचलन बढेको छ ।

नेपाली हुन वा विदेशीहरु सबैको घुमघामको रोजाई पोखरा पर्ने गरेको छ । त्यसो त पोखरामा कनै रातमा २० हजार बढी पर्यटकहरुलाई एकै रातमा व्यावस्थापन हुने गरी स्थानीय होटल व्यवसायीहरुले प्रबन्ध गरेका छन् । पोखरा धार्मिक पर्यटनको पनि उतिकै सम्भावना रहेको छ ।

पोखराको आकर्षण मध्यको एक फेवाताल पनि हो । वडा दसैंको अवसरमा पोखरा घुम्न आउने अधिकांश पर्यटकहरुले कोही पनि फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरको दर्शन गर्न पुग्ने गरेका छन् । मन्दिर दर्शन गर्नको लागि डुंगा सयर गर्नुले आगन्तुक पाहुनालाई छुट्टै मनोरन्जन हुने गर्दछ ।

पोखरामा रहेको विन्ध्यवासिनी मन्दिर नेपालकै चर्चित मन्दिरमा पर्छ । दसैं पर्वको अवसरमा पोखराको विन्दवासिनी मन्दिरमा भक्तजनको ठूलो भिड लाग्ने गर्छ । अग्लो स्थानमा रहेको मन्दिरबाट पोखराको शहर सुन्दर देखिन्छ । विन्दावासिनी मन्दिर आँफैमा पनि सुन्दर र सफा रहेको छ ।

पोखराको अर्को आकर्षण हो, डेभिड फल्स र गुप्तेश्वर गुफा । फेवातालको पानी बाधबाट डेभिड फल्सको गल्छी हुँदै गुप्तेश्वर गुफबाट सेती नदितर्फ जाने गरेको छ । गुप्तेश्वर महादेवको दर्शन गर्न र गुफाभित्र हिड्दाको अनुभव लिन पनि पर्यटकहरु गुफा जाने गरेका छन् । पोखराको महेन्द्र गुफा र चमेरी गुफासमेत चर्चित गुफा छन् । वाटुलेचौरमा रहेको महेन्द्र गुफा पुगेपछि चमेरी गुफा पनि अवलोकन गर्न सकिन्छ ।

पोखराको मुख्य बजारदेखि करिब १० किलोमिटर टाडामा बेगनास र रुपाताल पर्यटकहरुलाई मनमोहक पार्ने तामा पर्छन् । बेगनासको मिठो माछा खानका लागि बेगनास निकै चर्चित मानिन्छ । साविक लेकनाथलाई सात तालको नगरिको रुपमा पनि चिनिन्थ्यो । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय कला, संस्कृति, भेषभुषा बुझ्न अन्तर्राट्रि«य पर्वतीय संग्रहालय पुग्नु पर्छ । पोखराको पर्यटकहरुको लागि राम्रो गन्तव्य भएको संग्रहालयमा विद्यार्थीसमेत उतिकै आउने गर्छन् ।

 

पोखरामा सहासिक खेल प्याराग्लाइडिङ, बन्जीजम्प, जिप फ्लायर
पोखरामा पछिल्लो क्रममा पर्यटकहरुको मुख्य आकषर्ण प्याराग्लाईडिङ हुने गरेको छ । पर्यटनको सिजनमा यहाँ कम्तिमा ५ सय भन्दा बढी विदेशी पर्यटकहरु पोखराको आकासमा उड्ने गर्छन् । पोखरा आएका पर्यटकलाई फेवाताल र पोखराको आकास माथि चरोजस्तै आकाशमा उड्न कसको मन हुँदैन । सराङकोटको डाँडाँबाट जिप फ्लायर गरेर हेमजाका झरेसँगै पोखराको हेम्जामा टावरसहितको बञ्जी रहेको छ । जीप फ्लाई गर्दा हेम्जाको सुन्दर गाउँ, आसपासको हरियो वन जंगल र हिमश्रृंखला अवलोकन गर्न सकिन्छ ।

पोखराको अर्को आकर्षण हो, अल्ट्रालाइट फ्लाइट । अल्ट्रालाइटमा उडेर पोखरा शहर तथा हिमश्रृंखला हेर्न पाइन्छ । पोखरामा एभिया क्लब, सहित तीन वटा कम्पनीले अल्ट्रालाइट फ्लाइट गर्दै आएकाछन् । पछिल्लो समयमा हेलिकोप्टरले समेत पोखराको दृश्यवालोकन गराउँदै आएको छ ।

प्रकाशित समय ०९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु