गृहपृष्ठ बुटवलमा लुम्बिनी एक्स्पो व्यापार मेलाको अायोजना हुने
बुटवलमा लुम्बिनी एक्स्पो व्यापार मेलाको अायोजना हुने
रुपन्देही व्यापार संघको आयोजानमा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ यही पौष ५ देखि १८ गतेसम्म लुम्बिनी एक्स्पो–२०७५, अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना हुने भएको छ ।
मेला परिषरमा बुधबार पत्रकार सम्मेलन गरी आयोजक संस्थाले यसको तयारी सुरु गरिएको जनाकारी दिएको हो । रुपन्देही व्यापार संघका अध्यक्ष पदम प्रसाद श्रेष्ठका अनुसार मेलामा करिब ६०० स्टलको सहभागिता रहनेछ । ८ लाख बढी दर्शकको सहभागिता तथा करिब ५० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उनले बताए ।
मंसिरको दोस्रो हप्तादेखि संघको सचिवालय मेला स्थल बुटवल मण्डपमा स्थानान्तरण भई मेलाका आवश्यकीय कार्यहरु जस्तैः निर्माण कार्य, स्टल दर्ता, प्रचारप्रसार लगायतका तयारीका कामहरु आरम्भ गरिएको उनले जानकारी दिए ।
व्यावसायिक विविधताको समागम केन्द्र प्रदेश नं. ५ को राजधानी बुटवलमा पुनः आयोजना गर्न लागिएको लुम्बिनी एक्स्पो–२०१८, अन्तर्राष्ट्रिय व्यापार मेला यस क्षेत्रको पर्यटन व्यवसाय विस्तारमा समेत महत्वपूर्ण सावित हुने विश्वास लिएको उनले बताए ।
मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा ऐतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवद्र्धनात्मक प्रचारप्रसारसमेत गर्ने अध्यक्ष श्रेष्ठको भनाई छ ।
तरकारी तथा फलफूल एवं कृषि उत्पादनका हिसाबले भइरहेको उत्पादनलाई व्यवस्थित र प्रचुर सम्भावनालाई दृष्टिगत गरी मेलामा अलगअलग पेभेलियन बनाई कृषि तथा विभिन्न व्यवसायलाई प्रेरित गर्ने अभियान संचालन गर्ने उद्देश्यसमेत रहेको आयोजकले बताएको छ ।
औद्योगिक उत्पादन र त्यसको गुणस्तर एवं उपभोक्ता बीचको सम्बन्धमा सामिप्यता ल्याउन र लगानीकर्तालाई नयाँ व्यावसाय स्थापना गर्न प्रोत्साहन गर्ने गरी यस अन्तर्राष्ट्रिय स्तरको एक्स्पोको आयोजनाले बुटवल तथा समग्र राष्ट्रकै गरिमा र गौरबलाई अभिवृद्धि गर्न अमूल्य योगदान पुर्याउनेछ भन्ने अपेक्षा गरिएको उनले बताए ।
प्रकाशित समय १७:४६ बजे

















